गीताको दर्शन सबै नेपालीलाई बुझाउने उद्देश्यले ‘श्रीमद्भागवतगीता’ को नेपाली अनुवाद घर घरमा पु¥याउने अभियान शुरु गरिने भएको छ ।
गीता प्रेसले पहिलोपटक ‘श्रीमद्भागवतगीता’ लाई नेपालीमा अनुवाद गरेको छ । नेपालीमा अनुवाद गरिएको ‘श्रीमद्भागवतगीता’ आज आइतबार सार्वजनिक गरेपछि घरघरमा लैजाने अभियान शुरु गरिने गीता प्रेस पुस्तक बिक्री केन्द्र पशुपतिका अध्यक्ष जय किशन सारडाले जानकारी दिएका छन् ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा गीता प्रेसको बिक्री केन्द्र खुलेको थियो । भूकम्पका बेला राहत लिएर गाउँगाउँ जाँदा आध्यात्मिक पुस्तकको माग बढी भएको पाएपछि केन्द्रको स्थापना गरेको उनले बताए ।
पशुपतिस्थित सुमार्गी भवनमा विसं २०७३ जेठ २९ गते केन्द्रको स्थापना गरिएको थियो । केन्द्रको स्थापनासँगै गीता प्रेसले संस्कृत र हिन्दीलगायत भाषामा छापेका पुस्तक नेपालीमा अनुवाद शुरु गरेको थियो ।
हालसम्म २० वटा पुस्तक नेपालीमा अनुवाद भइसकेको छ । १० वटा अनुवाद भइरहेका छन् । पाँच वटा अनुवादको अन्तिम चरणमा पुगेको छ । ुश्रीमद्भागवतगीता’को नेपाली अनुवाद लक्ष्मण भण्डारीले गरेका हुन् । तीन सय पृष्ठको पुस्तकको मूल्य जम्मा २९ मात्र राखिएको गीता प्रेसले जनाएको छ ।