२०१५ सालदेखिका चुनावी घोषणापत्र र कामको समीक्षामा कांग्रेस

रिपोर्ट नेपाल | 2018 Aug 14 | 08:19 am 1401

काठमाडौं, साउन २९: प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसअघि निर्वाचनमा व्यक्त गरिएका चुनावी घोषणापत्रको प्रतिबद्धताका विषयमा समीक्षा गर्ने भएको छ। उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले तल्लो तहसम्म लैजान तयारी गरेको नीति र प्रशिक्षणको कार्यक्रममा ०१५ सालको निर्वाचनदेखि अहिलेसम्म गरिएको चुनावी घोषणापत्रलाई समीक्षा गर्ने तयारी गरेको हो। ०१५ सालयता भएका आमनिर्वाचनदेखि स्थानीय निर्वाचनमा प्रस्तुत भएका घोषणापत्रको समीक्षा गर्ने तयारी कांग्रेसको छ।

किन हुँदै छ घोषणापत्रको समीक्षा ?

विगतमा गरिएका प्रतिबद्धता कति पूरा गरियो, वर्तमानमा कति काम गर्न सकियो भन्ने विषयमा समीक्षा गर्दै अब दीर्घकालीन रूपमा पार्टीले लिने नीतिलाई समयअनुकूल र थप व्यवस्थित गर्न लागेको जानकारी प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले दिए।

दीर्घकालीन नीतिअन्तर्गत कांग्रेसे १५ सालदेखिका चुनावी घोषणापत्रमा अघि सारेका प्रतिबद्धता कति पूरा गर्न सकियो वा सकिएन भन्ने विषयमा समीक्षा गर्ने भएको छ। ‘आफ्नो सिद्धान्तअनुसार कसरी अघि बढाउने भन्नेमा हामीले प्रतिबद्धता व्यक्त गर्दै आएका छौँ,’ दाहालले भने, ‘२०१५ सालको चुनावमा गएयताका घोषणापत्रमा हामीले चुनाव जित्यौँ भने यति काम गर्छौं भनेर प्रतिबद्धता जनाएका थियौँ। तर, कति गर्न सकियो वा सकिएन सुधार गर्नुपर्ने के–के गर्नुपर्ने रहेछ भन्ने विषयमा पनि नीतिगत प्रस्टता पार्छौं।’

हिजोको समीक्षाले कसरी परिस्कृत गर्दै जाने, वर्तमानमा के–के गरियो, विगतको अनुभवमा भविष्यको बाटो गन्तव्य हुने भन्ने बारेमा विशेषज्ञसँग छलफल गरेर नीति बनाउने उनी बताउँछन्। विगतको समीक्षाले अगाडिको बाटो पहिल्याउन र तय गर्न सहज हुने उनी बताउँछन्।

०४६ सालको राजनीतिक परिवर्तनपछि खुला समाज, स्वतन्त्र प्रेस, फस्टाएका शैक्षिकदेखि स्वास्थ्य संस्था, बैंकिङ क्षेत्र विस्तार भएको कांग्रेसकै नीतिकै कारण भए पनि यिनीहरूलाई दिगो बनाउने र सामूहिक बनाउनुपर्ने दाहालले बताए। यसकारण पनि समयअनुकूल रूपमा नीतिगत सुधार गर्नुपर्नेमा आफूहरूले जोड दिएर कार्यक्रम तय गर्न लागेको उनको भनाइ छ। गत निर्वाचनमा कांग्रेस कमजोर हुँदा कम्युनिस्ट पार्टीहरूले झन्डै दुईतिहाइ मत ल्याएपछि अब पुरानै सोच, दृष्टिकोण र कार्यक्रमले अर्को निर्वाचनमा उनीहरूसँग प्रतिस्पर्धा गर्न नसकिने मत कांग्रेसको छ । यस्तोमा पार्टीलाई नीतिगत, वैचारिक, सांगठनिक र व्यावहारिक रूपमा प्रस्ट पार्ने चुनौती पनि उत्तिकै छ।

कांग्रेसले नीति निर्माणमा सहयोग पु-याउन तथा कार्यकर्ताहरूलाई पार्टीको आदर्श नीति, सिद्धान्त बोध गराई सक्षम बनाउन विभिन्न क्षेत्रमा कार्यरत सिर्जनशील, बौद्धिक, व्यावसायिक जनशक्तिको सहयोगमा यस्ता कार्यक्रम गर्छ। विषयगत विचार गोष्ठी, अन्तर्संवाद, परामर्श कार्यक्रम गर्न एवं प्रशिक्षणसम्बन्धी वार्षिक कार्यक्रम बनाई पार्टी सदस्यहरूलाई निर्धारित कार्यक्रमका आधारमा प्रशिक्षण गराउने, पार्टी व्यवस्थापनसम्बन्धी सीपमूलक तालिम पनि गर्ने काम यो प्रतिष्ठानले गर्ने गर्छ। १२औँ महाधिवेशनपछि कांग्रेसका अरू विभाग सक्रिय हुन नसक्दा रामचन्द्र पौडेल नेतृत्वको प्रतिष्ठानले देशभर नीतिगत बहस र प्रशिक्षणको कार्यक्रम गरेको थियो।

आचरणसँग जोडेर प्रशिक्षण

सिद्धान्तको भन्दा आचरणसँग जोडेर प्रशिक्षण दिने तयारी कांग्रेसको छ। ‘शब्दमा मात्र उल्लेख गरेर परिवर्तन भएन,’ दाहालले भने, ‘नेतादेखि कार्यकर्ताको आचरणमा परिवर्तन बनाउने गरी प्रशिक्षणको कार्यक्रम तल्लो तहसम्मै लान्छौं।’ १२ औं महाधिवेशन उपसभापति भएका रामचन्द्र पौडेल नेतृत्वमा हुँदा नै प्रतिष्ठानले बनाएको पाठ्यक्रमको पनि सहयोग लिने तयारी कांग्रेसको छ । ‘पाठ्यक्रम पूरै नयाँ त हुँदैन, तर पहिले पौडेलको पालाकै पाठ्यक्रमको पनि सहयोग लिन्छौँ। संविधान बनेपछिपछि देश संघीयतामा गएकोसहितका फेरिएका राजनीतिक सैद्धान्तिक विषयमा फेरबदल गर्दै विषयहरू मिलाउँछौँ।’

तर, अपूर्ण समिति

प्रमुख र कार्यकारी निर्देशक बने पनि २५ सदस्यीय कार्यसमिति बनेपछि मात्र यो पूर्ण हुनेछ। प्रमुख निधिले अब छिट्टै समितिले पूर्णता पाउने बताए। ‘अब ढिलाइ गर्दैनौँ। समितिलाई पूर्णता दिई छिटो नीतिगत स्पष्टता र प्रशिक्षण लिएर जान्छौँ,’ उनले भने, ‘त्यसपछि प्रदेश र जिल्ला तहमा कार्यक्रम लिएर जान्छौँ।’ केन्द्रले ७७ वटै जिल्लामा प्रशिक्षण शाखा गठन भएको छ कि छैन भनेर जानकारी गराउन जिल्लामा परीपत्र गरेको छ। जिल्लामा अहिलेसम्म प्रशिक्षण चलाएको भए रेकर्ड पठाउन, प्रशिक्षण प्रशिक्षकका लागि इच्छुकको नाम पनि केन्द्रले मागेको छ।

बुथसम्मै नीतिगत प्रस्टता र प्रशिक्षण लान्छौँ : विमलेन्द्र निधि, उपसभापति

पदेन रूपमा म यसको प्रमुख छु। यसमा कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल हुनुहुन्छ। अब छिट्टै कमिटीले पूर्णता पाउँछ। अनि प्रदेश र जिल्ला, क्षेत्र, गाउँनगरदेखि बुथसम्मै नीति र प्रशिक्षणका कार्यक्रम लान्छौँ। पार्टीले लिनुपर्ने बदलिँदो राजनीतिक सन्दर्भमा पार्टीको नीति निर्माणमासहयोग पु-याउन मात्र नभएर पार्टीको आदर्श र सिद्धान्तप्रति नेता कार्यकर्तालाई बोध गराउने र उनीहरूलाई सक्षम बनाउने गरी नीतिगत कार्यक्रम र प्रशिक्षण प्रदेशअनुसार लान्छौँ। पार्टीले साझा विषयमा समग्र र प्रदेशअनुसार फरक–फरक रूपमा पनि नीति र प्रशिक्षणको विषय लिएर जाने तयारी गरेको छ।

शशांक र सिंहबीच छुट्टै बैठक

कांग्रेसको पुरानो छवि फर्काउने भन्दै कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल भएको छ । आइतबार बानेश्वरस्थित कांग्रेस नेता मोहम्मद अफताव आलमको घरमा शशांक र सिंहबीच छलफल भएको हो । पार्टीको गुमेको छवि पुनः फर्काउन मिलेर जानुपर्ने विषयमा दुवै सहमत भएका छन् ।

‘पछिल्लो निर्वाचनदेखि पार्टीको पोजिसन अनपेक्षित रूपमा कमजोर हुन पुग्यो, अब पार्टीलाई पुरानै अवस्थामा फर्काउनुपर्छ भन्नेमा हामीले गहन छलफल गरेका छौँ,’ आलमले भने, ‘पार्टीलाई पुरानै अवस्थामा फर्काउन जस्तो चुनौतीको सामना गर्न पनि तयार छौँ भन्ने साझा बुझाइ हामी सबैको भएको छ।’ आफूले बोलाएको छलफललाई शशांक र सिंह दुवैले रुचाएको दाबी उनले गरे। ७० वर्षको इतिहास बोकेको पार्टीलाई कमजोर बनाउन नहुने साझा बुझाइ सबैको भएको भन्दै अब मिलेर जानेमा सहमति भएको उनको भनाइ छ। नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.