२ हजार किलो पटकासहित एक जना पक्राउ

| 2021 Oct 03 | 06:06 pm 2053

काठमाडाैं, असाेज १७ः २ हजार किलो पटकासहित एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका-१ का ३० वर्षीय कामेश्वर प्रसाद यादव रहेका छन् । यादवले विभिन्न मितिमा भारतबाट पटाका ल्याएर काठमाडौंको कागेश्वरी नगरपालिका-८ गोठाटारस्थित जलविनायक चोकमा रहेको गोदाममा राखेका थिए।

चाडपर्वलाई लक्षित गरी भण्डारण भइरहेको गोप्य सूचनाको आधारमा खटिएको महानगरीय अपराध महाशाखाको टोलीले गएराति कबाडी पसलको गोदाममा छापा मारी २५ लाख मूल्य पर्ने पटाका नियन्त्रणमा लिएको थियो ।

कार्टुनमा बाहिर इलेक्ट्रिकल सामान लेखेर भित्र पटाका राखी ल्याएका थिए । उनले इँटाको ट्रकभित्र राखेर पटाका काठमाडौं भित्र्याएको पाइएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

दसैंतिहार आउनुभन्दा अगाडि नै उनले पटाका काठमाडौं भित्र्याउने काम गरेको एसएसपी खापुङकाे भनाइ छ ।

कामेश्वर काठमाडौंको कबाडी सामानको कारोबार गर्नुका साथै तराईका जिल्लाबाट इँटा ल्याएर काठमाडौंमा बिक्री वितरण गर्दै आएका थिए । त्यहीं इँटा ल्याउने ट्रकभित्र लुकाएर पटाका काठमाडौं ल्याउन सफल भएका थिए ।

विशेष सूचनाको आधारमा महाशाखाको टोलीले गएराति नै पटाका बरामद गर्नुका साथै कामेश्वरलाई पनि नियन्त्रणमा लिएको हाे । नेपाल-भारत सीमा नाकामा कडा निगरानी छ । तर, उनले मुख्य नाकाभन्दा अन्य नाकाबाट पटाका नेपाल भित्र्याएको एसएसपी खापुङले बताए ।

पक्राउ परेका कामेश्वरलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फाेटक पदार्थ सम्बन्धि कसुर अन्तर्गत मुद्दामा आवश्यक कारवाहीका लागि महानरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.