काठमाडाैं, पुस ३०ः नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् ।
माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको छ । यस्तै सिक्काको बीच भागमा सात प्रदेश सहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टि विहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ ।

त्यसैगरी सिक्को पृष्ठ भागमा आठ थोप्ला सहितको वृत्ताकार चित्र रही त्यसको भित्र वर्गाकार आकृतिको बाहिरिपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति रहेको छ । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेरा भित्र वरपर ६४ वठा थोप्ला छन् । सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ ।
