१५ वर्षीया बालिकालाई तस्करले १० हजार भारतीय रुपैयाँमा बेचेको खुलासा

रिपोर्ट नेपाल | 2019 Nov 13 | 05:08 pm 1798

काठमाडौं, कात्तिक २७: एक नेपाली १५ वर्षीया बालिकालाई मानव तस्करले १० हजार भारतीय रुपैयाँमा बेचेको पाइएको छ ।

प्रहरीका अनुसार बालिकालाई कोठी सञ्चालकहरूले करिब एक महिना कोठामा बन्धक बनाई युवती बनाउनको लागि प्रयोग गरिने सुई र औषधी प्रयोग गरेको पाइएको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोका एसपी अनुपम शमशेर जबराका अनुसार नेपालकै महिला मानव तस्करले ती बालिकालाई नयाँ दिल्लीस्थित कोठी नम्बर ५ सय ११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखी यौनधन्दामा लगाइएको जानकारी दिए ।

उक्त कुरा भारतको नयाँ दिल्लीस्थित कोठीबाट उम्किन सफल ती बालिकाले आफूलाई १० हजारमा बेचिएको प्रहरीसँग बयान दिएकी हुन् ।

कोठीमै आएका एक नेपाली ग्राहकको सहयोगमा ती बालिका उम्किन सफल भएकी हुन् । नेपाल फर्किने क्रममा माइती नेपाल शाखा कार्यालय नेपालगञ्जले नेपाल–भारत नाकाबाट उद्धार गरी माईती नेपाल केन्द्रीय कार्यालय काठमाडौंमा ल्याएर प्रहरीलाई जानकारी गराएका थिए ।

ती बालिकालाई ०६८ साल माघमा सुनिता तामाङले काठमाडौंको एक होटलमा काम गर्दै गरेको पत्ता लगाई प्रलोभनमा पारेर गाउँमै लगेर पढाइदिने वाचा गरी होटलबाट काम छुटाएकी बुझिएको छ ।

प्रहरीका अनुसार बालिकालाई घर जाऊँ भनेर बसमा चढाई बान्ता नआउने औषधी भन्दै लट्याउने औषधी पटक–पटक खुवाएर भारततर्फ लगेको खुलासा भएको छ ।

सुनिताले कोठीको सञ्चालक लक्ष्मी र हेमालाई बुझाएको र बुझाएपछि १० हजार भारतीय रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

पीडितले यही कात्तिक २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले ती बालिकालाई बेच्ने कार्यमा संलग्न नुवाकोट, सूर्यगढी गाउँपालिका घर भई हाल ललितपुर, चापागाउँ बस्ने वर्ष ५० की कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामालाई पक्राउ गरेको छ ।

यस्तै सोही घटनामा संलग्न फरार नुवाकोट, सूर्यगढी गाउँपालिका–६ घर भई ललितपुर, चापागाउँ बस्ने ४२ वर्षीय शेर बहादुर लामाको खोजी कार्य जारी राखेको व्युरोले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.