काठमाडौं, जेठ ८: कर्मचारी समायोजनका क्रममा १५ वर्षअघि निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्षअघि मृत्यु भए समायोजन हुँदा सडक विभाग काठमाडौंमा सरुवा गरिएको खुलासा गरेका हुन् ।
कँडेलले भने, हाम्रो निजामती प्रशासन कस्तो ढङ्गले चलिरहेको छ भन्ने उदाहरणका रुपमा यो घटनालाई लिन सकिन्छ, विष्टको परिवारले राज्यबाट पाउनुपर्ने सबै सुविधा पहिले नै लिइसकेका छन्, १५ वर्षअघि बितिसकेका कर्मचारीको अहिले सरुवा भएको छ ।
उक्त समितिमा अहिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि केही दिनदेखि दफाबार छलफल चलिरहेको छ । आजको नयाँ पत्रिका दैनिकबाट ।