१४ हजारमा काठमाडौँबाट वाराणसी पुगेर फर्किन मिल्ने

रिपोर्ट नेपाल | 2018 Jun 30 | 07:33 am 3349

काठमाडौँ, असार १६ : बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ ।

यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र प्रबन्ध निर्देशक बस्नेतले काठमाडौँबाट वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइसमेत गरेका थिए।

मन्त्री अधिकारीले दुई शहरलाई धार्मिक तथा पर्यटकीय रुपमा जोड्ने तथा उडानले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई समेत सहयोग मिल्ने बताए ।

नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वागत गरे। बुद्ध एयरले दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय बिदाका कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।

उडानबाट भारतीय तीर्थालु तथा यात्रुका लागि विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि नेपाल आउने छन् । वाराणसीबाट भारतीय पर्यटक मुख्यगरी पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर आउने विश्वास गरिएको छ । युवावर्गलाई लक्ष्य गरी हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारीजस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक बस्नेतले बताए ।

काठमाडौँ– वाराणसी– काठमाडौँको उडान अवधि ५० मिनेटको हुने छ । बुद्ध एयरले अहिले दोहोरो भाडा दर काठमाडौँ–वाराणसी टिकट रु १४ हजार तोकेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.