१०१ बर्षका ‘बलमान’ अझै जवान

| 2022 Sep 03 | 08:29 am 1721

उदयपुर, भदाै १८ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न.९ राजाबासका बलमान दनुवार अहिले १सय १ बर्षमा टेके । उनी यस क्षेत्रको सबैभन्दा बढी उमेरका व्यक्ति हुन् । बलमानको अनुहारमा चाउरी परेको भएपनि उनि जवान जस्तै काम गरिरहेको भेटिन्छन् ।

मुखभित्र दुई दाँत मात्रै देखिने बलमान सबै खानेकुरा राम्रैसंग खानसक्ने बताउछन् । खाना मात्रै होइन् उनि माछा मासु र जाड(स्थानिय मदिरा) समेत खान्छन् ।

बलमान दिनभर व्यस्त देखिन्छन् । बाख्रा र कुखुरा चराउनमा व्यस्त हुने बलमान अन्य काम नभएका बेला खेतबारीको झार उखेल्ने, गुन्द्रुक बनाउने जस्ता काम गर्दछन् ।

१३ बर्षअघि श्रीमती गुमाएका बलमानका ६ छोरा र २ छोरी छन् । उनका सबैभन्दा जेठा छोरा अहिले ७० बर्ष पुगिसके । बलमानले दर्जनौँ नाती, पनाती र झरझर नाती गरि १सय बढी नातीनातिना रहेको बताए ।

बलमानले अहिले आफ्नो कुरा अरुलाई बुझाउन दुईतिन पटक बोल्नुपर्ने हुन्छ । ‘१बर्ष अघि सम्म बुवाले बोलेको कुरा प्रष्टै बुझिन्थ्यो अहिले बुझ्न थोरै समस्या हुन्छ ।’ उनका साइला छोरा बुद्धबीरले भने । ‘बुवाले जिवनमा धेरै दुख गर्नुभयो, उपभोग्य सामान ल्याउन लाहान जानुहुन्थ्यो । केहि समय भारत पनि जानुभयो ।

हामी ६ भाइमध्ये एक भाइले मात्रै ८ कक्षा पढेका छन् । अरुले ५पास पनि गर्न पाएनौँ ।’ ५१बर्षिय बुद्ध १२बर्ष कतारमा रोजगारी गरेर फर्केका हुन् । उनले भने,‘अहिले घरमा खानका लागि घरमै फलेको अन्न प्रयाप्त हुन्छ भने, पहिला पुग्दैनथ्यो ।’ १सय बर्ष पार गरेका बुवा काम गरे सन्चो हुने भन्दै दैनिक घरायसी काम गरिरहने गरेको छोरा बुद्धको भनाई छ ।

बलमान आफु गाउँभरीकै बुढो मान्छे भएको बताउछन् । उनलाई आफ्नो उमेर समेत याद छैन् । तर आफु बैशाख महिनामा जन्मेको बताउछन् । उनले भने,‘गाइबस्तु र बाख्रालाई घाँस खुवाउँछु, कुखुरालाई चारो खुवाउँछु । धान खेत, तरकारी बारी र केराबारीको झार उखेल्ने काम गर्न सक्छु । बच्चै देखि गरेको काम अहिले पनि गरिरहन मन लाग्छ । १सय बर्ष बाँचे अझै कति बाँचिन्छ थाहा छैन् ।’ आफु सानो छदाँ स्कूल, अस्पताल, सडक कतै नभएकाले अहिले सबै क्षेत्रमा बिकास भएको प्रति बलमान खुसि छन् ।

उनले आफ्नो जिवनको उर्जावान समय कृषि र घर बनाउने काममा बिताएको सुनाए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.