हावाहुरीले कृषि बालीमा क्षति

रिपोर्ट नेपाल | 2023 May 24 | 08:00 am 965

तनहुँ, जेठ १०ः हावाहुरीसँगै आएको असिना पानीले तनहुँमा ठुलो क्षति पुगेको छ। तनहुँमा  केही दिनदेखि आएको असिना पानी र हावाहुरीले फलफूल तथा अन्य बालीमा क्षति पु-याएपछि कृषक चिन्तित भएका छन्।  पाक्न लागेको धान, हुर्कंदै गरेका मकै, सुन्तला, कागती तथा तरकारीको पकेट क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

घिरौँला, काँक्रा , बोडी, फर्सी, लौकालगायतका लहरे तरकारी बालीका बिरुवा तथा सुन्तला, कागती, मेवा, नासपाती, लिचीजस्ता फलफूलका बोटमा हुर्कंदै गरेको दाना झारेर क्षति पु-याएको स्थानीय कृषकले दुखेसो गरेका छन्। भानु नगरपालिका–४, खाती चोकस्थित खाती चोक अर्गानिक कृषि समूहका अध्यक्ष धनबहादुर तामाङले गोलभेँडाको टनेल भत्काएर २० लाख रुपियाँभन्दा धेरैको नोक्सान पु-याएको बताए। समूहका २२ वटा टनेल, गोलभेँडा तथा तरकारीमा क्षति पुगेकाले नोक्सानी भएको उनले जानकारी दिए।

कृषकले क्षतिबारे जानकारी गराएपछि स्थलगत अनुगमन गरेर क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। सुन्तलाको पकेट क्षेत्र म्याग्दे गाउँको उमाचोकमा असिना र हुरीले करिब १० लाखको क्षति पुगेको सो ठाउँका कृषक निर्मल अधिकारीले जानकारी दिए।  भर्खरै उम्रिँदै गरेका र बढ्न थालेका मकै, फुलेर दाना लाग्दै गरेको ताइचिन धान हावाहुरीसहितको असिना पानीले नष्ट गरेको व्यास  नगरपालिका–११, पोल्याङ निवासी हरिप्रसाद थापाले बताए। खेती नष्ट भएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भएको थापाले बताए।

सोही ठाउँ निवासी हीराकुमारी कार्कीले आफ्नो १० रोपनी बारीमा लगाएको मकै तथा तरकारी बाली असिना र हुरीले पूरै नष्ट गरेको बताइन्। पोल्याङ तथा आसपासका ठाउँमा लगाइएको फलफूल, तरकारी तथा अन्न बालीमा नोक्सान पुगेको र राहत दिनुपर्ने माग स्थानीयले राखेको कार्की बताउछिन्। त्यस्तै व्यास नगरपालिका–८, रिस्तीका रामप्रसाद मिश्रले खेतमा लगाइएको धान तथा मकै तथा फलफूल तरकारी असिना र हुरीले नष्ट गरेको जानकारी दिए। असिना र हुरीले गर्दा आठ वटा बाख्रासमेत मरेको मिश्रले जानकारी दिए।

यसैबिच व्यास नगरपालिका–१३, आशापानीमा कृषक राजु रेग्मीको कागती बगैँचामा हावाहुरी र असिना पानीले करिब १० लाखको नोक्सान पुगेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

२६ रोपनी क्षेत्रफलमा रहेको एक हजार बोट फलेका कागती असिनाले खसाल्ने र हुरीले हाँगा भाँचेकाले सो रकम बराबरको नोक्सान पुगेको स्थलगत निरीक्षणबाट देखिएको तिवारीले जानकारी दिए।   चार वर्ष कोरिया बसेर फर्किएका रेग्मीले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन्। हालसम्म ३५ लाख रुपियाँ लगानी भएको उनले बताए। अघिल्लो वर्ष पाँच लाख रुपियाँको कागती बिक्री गरेका उनले यस वर्ष २५ लाख रुपियाँको बिक्री गर्ने लक्ष्य रहेको बताए। कृषक रेग्मी भन्छन्, “कागती बेचेर ऋण तिर्ने योजना थियो, सपना सबै उडायो।”

व्यास नगरपालिकाले हावाहुरी, असिना पानीका कारण भएको क्षतिको विवरण सङ्कलन गरिरहेको छ। सात दिनभित्र वडा बिपत् समितिबाट निर्णय गराई नगर बिपत् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। स्थलगत निरीक्षणको क्रममा  ठूलो क्षति पुगेको पाइएको नगर प्रमुख न्यौपानेले बताए। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.