हाइड्रोको हकप्रद निष्काशन सशर्त

रिपोर्ट नेपाल | 2021 Sep 28 | 08:24 am 2229

काठमाडाैं, असाेज १२ः विद्युत नियमन आयोगले ‘विद्युतसम्बन्धी कम्पनीको सेयर सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ मार्फत विभिन्न शर्त तोकेर हाइड्रो कम्पनीले हकप्रद निष्काशन गर्ने सक्ने व्यवस्था गरेको छ । आयोगको गत बुधबारको बैठकले स्वीकृत गरेको निर्देशिकाले अनुमतिपत्र प्राप्त कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत वा सो भन्दा बढी सेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ । जसअनुसार बढीमा २ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्न सकिने छ ।

यस्तै, आफू मुख्य कम्पनीको हैसियत हुने बाहेकका अन्य अनुपतिपत्र प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गइरहेको आयोजनामा ५० प्रतिशत भन्दा कम सेयर लगानी गर्ने प्रयोजनका लागि हकप्रद सेयरको निष्काशन गर्न सक्ने भन्दै निर्देशिकाले यसरी सेयर निष्काशन गर्दा उक्त आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने पनि जनाएको छ । यस अनुसार बढीमा १ सय प्रतिशत हकप्रद निष्काशन गर्न सकिने छ ।

यसका साथै, हकप्रद सेयर निष्कासनको लागि निवेदन दिँदा सहायक कम्पनीमा रहने मुख्य कम्पनी र अन्य सेयरधनीको कति कति प्रतिशत सेयर कायम रहने हो, सोको विवरण पेश गर्नुपर्ने भन्दै निर्देशिकाले मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युतको व्यापारिक उत्पावन शुरु गरेको हुनुपर्ने, मुख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको ५१ प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनुपर्ने पनि जनाएको छ । यसका लागि आयोजनाको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हुनु पर्नेछ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.