सुनसरी, माघ ५ः धरान उपमहानगरपालिका-५ आपटार बस्ने ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिकास भन्ने हर्क बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईलाई समेत टाउकोमा खुकुरी प्रहार गर्दा घाइते भएकी उनको उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्राम सहित दाङ बबई गाउँपालिका-४ घर भएका २६ वर्षीय सुमन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंजदेखि काठमाडौं आउँदै गरेको बा.५ ख ४५ नम्बरको बसलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।