हत्या गरेको अभियोगमा एक तथा अवैध लागूऔषध सहित १३ जना पक्राउ

| 2021 Dec 15 | 05:09 pm 1693

सुनसरी, मंसिर २९ः ईटहरी उपमहानगरपालिका-४ बस्ने ५१ वर्षीय श्रीमुरारी गिरीको हत्या गरेको अभियोगमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भिनाजुकै घरमा बस्दै आएका राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका गिरीको बिराटनगर नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित १३ जना पक्राउ

कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट करिब ३ किलोग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ नगरपालिका-४ खानीगाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.४ ख १६३८ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार ती किशोरलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुन्हाबाट ५५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर नगरपालिका-१४ बस्ने ३३ वर्षीय गौरब बुढाथोकी र बाँके राप्ती सोनारी गाउँपालिका बस्ने ३२ वर्षीय सुबास बिक रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले अबैध लागूऔषध ब्राउनसुगर सहित १० जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये तुलसीपुर उपमहानगरपालिका-१ भम्के बस्ने २२ वर्षीय बिनोद भण्डारी समेत ४ जना सोही उपमहानगरपालिका-५ आलुमण्डीमा ५ सय ४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका-५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय  अमर गन्दर्भ समेत ४ जना २ सय १० मिलिग्राम र  तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत २ जना ९ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.