हत्या गरी उखुबारीमा फालिएको अवस्थामा एक महिलको शव फेला

रिपोर्ट नेपाल | 2020 Feb 07 | 07:07 pm 1632

मोरङ, माघ २४: गत मंगलबारबाट सम्पर्कविहीन भएकी महिलाको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ ।

हत्या हुनेमा सुनसरीको दुहबी नगरपालिका– ६ काली मन्दिर नजिकै घर भएकी ३२ वर्षीया सम्झना खत्री परियारको रहेको प्रहरीले जानकारी दिएको हो ।

उक्त महिलाको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै रहेको उखुबारीमा फेला परेको बताइएको छ ।

उनी दुई सन्तानकी आमा हुन् । बेपत्ता भएपछि आफन्तले बिहीबार प्रहरी चौकी निमुवामा निवेदन दिएका थिए ।

शुक्रबार बिहान विराटनगर– १२ बखरीको मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

निलो आउटर, हरियो कुर्ता लगाएकी महिलाले अनुहारमा मेकअप र आँखामा गाजल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

घाँटी रेटेर सलले बरेको अवस्थामा शव भेटिएको र शव नजिकै सुरुवाल पनि भेटिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । उनका अनुसार महिलाको अन्तै हत्या गरी राति मोटरसाइकलमा राखेर उखुबारीसम्म शव ल्याएर फालिएको हुनसक्ने बताइएको छ ।

मृतकमा श्रीमान बसन्त परियार इलाममा टेलरिङको काम गर्दै आएका थिए । दुई हप्ता अघि घर आएर उनी इलाम फर्कीएका थिए । सम्झना छोरीसँग बस्दै आएकी थिइन् । सम्झनाका छोरी कक्षा ७ र कक्षा १० मा अध्ययनरत छन् ।

श्रीमान बसन्तका अनुसार मंगलबार दिउँसो टेलिफोन सम्पर्कमा सम्झनाले टाउको दुखेकाले आराम गरी बसेको बताएकी थिइन् । तर बेलुका छोरीले आमा घरमा नरहेको जानकारी गराएपछि बसन्त बुधबार घर फर्केका थिए ।

घटना संकास्पद रहेकाले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले शवको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.