हत्तेरी ! मलाई त झुक्याइ हालेछ

| 2023 Aug 19 | 12:56 pm 7873

– दुर्गादेवी मगर

हिजो बिहानै ‘‘नयाँ पत्रिका” बाट थाहा भयो प्रधानमन्त्रीहरुलाई त झुक्याउदा पो रहेछन् –मन्त्रीहरु र मूख्यसचिव मिलेर । बिचरा प्रधानमन्त्रीहरु । के थाहा प्रधानमन्त्रीहरुलाई ? मूख्यसचिवले पढेर सुनाएछन् – उनलाई पनि के थाहा–मूख्यसचिव भनेको त जे आयो पढेर सुनाउने त परे । उनको काम नै पढेर सुनाउने सम्म त हो । परिषदमा रहेका मन्त्रीहरुले त झन थाहा पाउने कुरै भएन । हिजो अर्को अनलाइन खबरमा समाचार थियो – नेकपा माओवादी नेता कृष्ण बहादुर महराको बारेमा । त्यहाँ प्रधानमन्त्रीले गृहमन्त्री र सिआईबि प्रमुखलाई बोलाएर सुन तस्करीको विषयलाई लिएर महराको बारेमा कुरा गर्दा उनी दोषी छैनन् उनको बारेमा कारवाही गर्नु पर्दैन भनेर गृहमन्त्री तथा सिआईबि प्रमुखबाट ब्रिफिङ भएकोमा प्रतिवेदनमा चाही सुन तस्करी गर्ने लिस्टमा उनको नाम पनि राखिहालेछन् । सिआईबिबाट यसरी प्रधानमन्त्रीलाई झुक्याएको भनेर प्रधानमन्त्री प्रचण्ड अप्रसन्न भए रे । मूख्यसचिवलाई पनि सचिवले झुक्याएर एउटा विषय भनेर अर्कै पठाउँदा रहेछन् । सचिवलाई पनि यस्तै गर्दा यो के रहेछ र कस्तो झुक्याएछ त भनेर फाँटवालाको नाताले म पनि आत्तिए । मेरो पनि नाम त थियो – ललिता निवास प्रकरणमा । अनि मैले म भन्दा तलका कर्मचारीहरुलाई सोधे – तलकाले तलकालाई गर्दै जादा सत्य कुरा खुल्यो – त्यो फायल साट्ने काम कार्यालय सहयोगी (पियन) को रहेछ । जग्गा दलालले प्रभावमा पारेर सक्कली फायलमा राख्नुपर्ने जति कागज निकालेर सबै नक्कली हाली नक्कली मोही बनाएको रहेछ । प्रधानमन्त्रीहरुलाई नै झुक्याउने कसरत कसरी सुरु भएको रहेछ – एकीन भएपछि त निर्क्योल गर्न गार्हो हुने भएन । कारबाही सुरु भयो ।

यहि विषयमा सिआईबिले जस्तै गंभीर तरीकाले मैले खोज्न थाले – कसरी कस्को प्रभावमा को को परेछन् र झुक्याउन कसरी संभव भएछ भनेर । यो झुक्याउने विषयको निर्णय त २०६५ सालमा सर्वोच्चको पूर्ण इजलासबाट भइसकेको रहेछ । यस्तै विषयमा अर्को मुद्दा चलाउने हो भने अदालतको निर्णयको विरुद्ध मानहानी लाग्छ – सर्वोच्चको निर्णय कार्यान्वयन त गर्नै पर्छ भन्ने कुरा सरकारलाई पनि थाहा भएको विषय भएकोले एक दशक जति यस्को बारेमा सरकार पर्खिएर बसेको रहेछ । अब त सबैले बिर्सिए होलान् भन्ने लागेर करिब १० वर्ष पछि सरकारले थाहै नपाए जस्तो गरेर जागीरमा छदा अलिक सन्की प्रकारका पूर्व सचिवको खोजी गरि मुद्दा चलाउने आधार तयार गरेछ र सरकारले २०७६ साल तिरै निर्णय गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुद्दा चलाउन भनि प्रमाणित गरेको रहेछ । अख्तियारले पनि थाहा पाएको भए त के गर्थ्यो – आयोगमा समेत एउटा विषय भनेर अनुसन्धान गर्ने अधिकारीले अर्कै विषय भनेर ब्रिफिङ गरेर मुद्दा चलाउने निर्णय गराएछन् । पछि मुद्दा विशेष अदालतमा यस्तै निर्णय भएको पुगेपछि मात्र थाहा भएछ – निर्णयकर्ता आयोगका पदाधिकारीहरुलाई आफुलाई झुक्याएको भनेर । अब झुक्किएर भएपनि मुद्दा अदालतमा पुगिसकेपछि यसलाई सफल बनाउन अझ धेरै झुक्याउने खेलहरु गर्नु पर्ने नै भयो र यसरी झुक्याउने कामबाटै सुरु भएको रहेछ – ललिता निवास जग्गा प्रकरण भन्ने अहिले राम्ररी थाहा भयो ।

यसै गरि मन्त्रीपरिषद्, प्रधानमन्त्रीलाई झुक्याउने गरेको पहिलो केश भने होइन यो । भुटानी शरणार्थीको नाममा नेपाली नागरिकलाई भुटानी बनाई पठाउने काममा प्रयोग भएका कतिपय व्यक्ति जेलमा छन् भने कतिपय फरार छन् । तर पर्दा भित्र बसेर ठूलो रकम लिएर झुक्यानमा पारी मन्त्रीपरिषदबाट निर्णय गराउन सक्ने हैसियत भएकाहरु भने छाती खोलेर सार्वजनिक रुपमा नैतिकताको पाठ पढाउदै गरेको पनि देखिएकै छ ।

पहिले पहिले झुक्याइ भए गरेको निर्णयहरु पनि यदाकदा सार्वजनिक भएकै छन् । सुडान घोटाला काण्ड, लाउडा काण्डमा पनि यस्तै भएको हो क्यारे । झुक्याएका कुरा निर्णय भएपछि समयमै थाहा भए यस्ले गति लिन पाउने थिएन भन्ने कुरा त वाइडवडी – न्यारोवडी जहाज खरीदमा, ओम्नी प्रकरणमा, गोकर्णको जग्गा लिजमा दिने विषयमा, गीरी बन्धु टि स्टेट समेतको जग्गा बिक्री गर्ने गरि भएका निर्णयमा हेर्दा थाहा भै हाल्छ नि । ती सबै निर्णय पनि मन्त्रीपरिषद्लाई झुक्याएरै भएको हुनुपर्छ । गोकुल बास्कोटा बिचरा इमान्दार एमालेका नेता –अध्यक्षका प्रिय व्यक्ति – उनलाई समेत झुक्याए – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादलाई पनि एमालेले झुक्याएको हो कि उनले एमालेलाई झुक्याएको हो – त्यो पनि अनुसन्धान गरे थाहा भै हाल्छ । यसरी हाम्रो देश कति धेरै झुक्याउनेमा पर्ने भयो भनेर म बिहानै देखि घोरिएर बसिरहेको थिए – एउटा साथीको फोन आयो – माधव कुमार नेपाल र बाबुराम भट्टराईमात्र होइन सिंगो मन्त्रीपरिषदलाई झुक्याएर निर्णय गराएछन् नि ललिता निवासमा त ! उसले अलिक ढिलो थाहा पाएछ । उसले मलाई पुराना धेरै वटा उदाहरणहरु दिदै झुक्याउनु पनि एउटा सुन्दर कला हो भन्यो । माओवादीले नझुक्याएको भए जंगलबाट १० वर्षमा सिंहदरबारको बागडोर कसरी पाउथे त ? केपी शर्मा ओलीले राजनैतिक अपाराधी भई जेल जीवन बिताएको भनेर नझुक्याएको भए प्रधानमन्त्री सम्म बन्थे त ? उपेन्द्र यादवले गौर हत्या काण्डबाट कसरी उन्मुक्ति पाउथे त ? होली वाइनबाट माधव नेपाल कसरी उम्किन सक्थे त ? अनि माधव नेपाल र बाबुराम भट्टराई झुक्किन नपाउने त ललिता निवासमा ? बिदेशीहरुको नक्कल गर्ने बानी परेका नेपाली नागरिक तपाईं हामी – अप्रिल फूलको नाममा – एकअर्कालाई झुक्याउने ।

केही छैन – प्रधानमन्त्रीहरुलाई झुक्याएर निर्णय गराए पनि झुक्याउने मूख्य व्यक्ति त अन्तिममा फसि हाल्छ नि । कार्यालय सहयोगी ! अब के को चिन्ता हुने भयो र ? भाद्र महिना रमाईलो सँग बितोस्, गृहमन्त्रीले सिआईबिलाई दिएको आश्वासन चाँहि झुक्यानमा नपरोस् भन्ने कामना गर्दै – आजलाई यत्ति !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.