स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन

| 2021 Aug 02 | 08:23 am 1905

काठमाडाैं, साउन १८: टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ। यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो। खोप सोमबार बिहान १०:०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफी मागिसकेकाले खोप कार्यक्रमलाई आजदेखि पुनः निरन्तरता दिइएको राससलाई जानकारी दिए।

नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएको छ। नगरपालिकाभित्रका मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.