स्वास्थ्य क्षेत्रमा मालिकाको फड्को

| 2021 Sep 24 | 01:30 pm 1917

  • सन्तोष महतारा

गुल्मी, असोज ८ः मालिका ८ की सरस्वती जिसी २५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध छिन् । उनी आफुले ५ देखी ७ दिनसम्म ब्यथा लाग्दा जोखिम मोलेर घरमा सन्तानलाई जन्म दिने गर्थिन् । स्वास्थ्य सम्बन्धि कुनै योग्यता नभएपनि स्वास्थ्य स्वमंसेविका भएपछि गाउँका महिलालाई पनि सुत्केरी गराउनुपर्ने थप बाध्यता थियो । यसरी घरमा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको ज्यान जाने जोखिम रहेको उनले अनुभव सुनाइन् ।

मालिका २ का ओम बहादुर भण्डारीमगर पनि लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन् । पदले दर्लिङ्ग स्वास्थ्यचौकीका प्रमुख हुन् । दर्लिङ्ग वडा भूगोलका हिसाबले नमिल्दो छ । उनी ५ घण्टासम्म हिडेर महिलालाई सुत्केरी गराउन पुगेको बताउँछन् । लामो बाटो हिड्दाहिड्दै समयमा नपुग्दा केही सुत्केरी आमाको मृत्यु भएको नमिठो अनुभव उनीसँग छ ।

मालिकामा यस्ता केही प्रतिनिधि पात्रका अनुभव मात्र हुन् । विगत १४ वर्षलाई हेर्दा मालिकामा मात्र ७ जना महिला र ११ जना नवजात शिशुको अकालमा ज्यान गएको छ । घरमा जोखिम मोलेर सुत्केरी हुदाँ वा गराउँदा कमतौलको बच्चा जन्मनु, गर्भपतन, जन्मिएका बच्चाहरु विकलाङ्ग हुनु, लामो समयको सुत्केरी व्यथाको कारण पाठेघर खस्नुका साथै फिष्टुला जस्ता समस्याका बिरामीहरु प्रशस्त मात्रामा भेटिन्छन् ।

तर, मालिकाले अब घरमा सुत्केरी हुने कुरालाई सधैका लागि अन्त्य गरेको छ । बिहिबार गाउँपालिकाले ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरेको छ । गाउँपालिका भित्र सबै गर्भवती महिला अनिवार्य रुपमा स्वास्थ्यचौकीमा सुत्केरी भएका छन् । अहिले मालिका क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य स्ंवमसेविका र सर्वसाधरण पनि खुसीले फुरुङ्ग छन् । स्थानीय तहको निर्वाचनपछि गरिएको निरन्तर प्रयासले गर्दा मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

आर्थिक वर्ष २०७४÷०७५ को प्रथम गाउँसभा गाउँपालिकाका सबै वडाहरुमा वर्थिङ्ग सेन्टर संचालन गरि पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्ने नीति अनुसार बाँकी रहेका ४ वटा वडाहरुमा वर्थिङ्ग सेन्टर स्थापना, वडा नं. ६ मा संचालनमा रहेको गर्भबती माहिलाको पहिचानको निमित्त गर्भवतिको घरमा हरियो झण्डा कार्यक्रम लाई सबै वडामा बिस्तार, सबै गर्भवतिहरुलाई प्रोटोकल बमोजिम गर्भ जाँच शत प्रतिशत बनाउनुको साथै पोषण स्थितिमा सुधारको निम्ति सबै गर्भवतिको घरमा ‘हरियो झण्डा र एक क्यारेट अण्डा’ कार्यक्रमको सुरुवात, सुरक्षित मातृत्व सम्बन्धी सडक नाटक, बहुनिकाय अन्तरक्रिया, स्वास्थ्य आमा समुह, विद्यालय स्वास्थ्य शिक्षा लगाएतका कार्यक्रम संचालन, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत १८० आईरन र टिडी खोप लाई शत प्रतिशत गराउने, सबै गर्भवति महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन जाँदा र फर्किनुका साथै अत्यावश्यक प्रेषणको लागि समेत निःशुल्क एम्बुलेन्सको व्यवस्था, वडा नं. २ च्यानडाडाँ, वडा नं. ५ छाप र वडा नं. ६ अर्जैबेँसी कुमालगाँउमा ३ वटा सामुदायिक स्वास्थ्य ईकाई स्थापना, गाउँपालिका श्रोतबाट व्यवस्थापन हुने गरी थप ९ जना जनशक्ति व्यवस्थापन, स्वास्थ्यकर्मीको स्वीकृत दरबन्दी लाई पदपुर्ति, स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक पूर्वाधार, औजार र उपकरणहरु व्यवस्थापन, स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार तालिमहरु उपलब्ध गराउँदै मेन्टरिङ्गको माध्यम बाट सबै स्वास्थ्यकर्मीको क्षमता विकास, महिला सामुदायिक स्वयंसेविका लगायत स्वास्थ्यकर्मीहरुलाई थप प्रोत्साहनका कार्यक्रम संचालन गरिएको स्वास्थ्य संयोजक भुसालले बताए ।

गाउँपालिकाको वडा नं. ६ र ४ लाई यसअघि जिल्लाकै पहिलो र दोश्रो पूर्ण संस्थागत प्रसूति वडाको रुपमा वि.सं. २०७६ कार्तिक १७ गतेका दिन घोषणा गरिएको थियो । गत वर्ष मालिकाका सबै वडाहरुमा ३ सय ३२ जना महिलाहरु गर्भवती भएको तथ्याङ्कलाई आधार मान्दा २४३ जना गाउँपालिका भित्र रहेका वर्थिङ्ग सेन्टरमा, गुल्मी अस्पताल तम्घासमा ४२ जना, लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा २५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा १४ जना, अग्लुङ्ग स्वास्थ्य चौकीमामा १ जना, पुर्कोट स्वास्थ्य चौकीमा १ जना, श्रिङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा १ जना, प्राथामिक स्वास्थ्य केन्दमा १ जना, अमरपुर स्वास्थ्य चौकीमा १ जना, युनाईटेड मिसन अस्पताल तानसेन पाल्पामा १ जना बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्दमा १ जना गरी जम्मा ९१ जना गर्भवती महिलाहरु गाउँपालिका बाहिरका स्वास्थ्य संस्थाहरुमा सुत्केरी भएको तथ्याङ्क संकलनपछि विश्लेषण गर्दा सबै महिलाहरुले प्रोटोकल बमोजिमको चार पटक गर्भवति चेकजाँच, टिडी २ र २+ शत प्रतिशतले लगाएको अवस्था, सबै गर्भवती महिलालाई अत्यावश्यक अवस्थामा निःशुल्क प्रेषण र वर्थिङ्ग सेन्टर सम्म जान आउनको निम्ति निःशुल्क एम्बुलेन्स समेतको व्यवस्थाले गर्दा गाउँपालिका ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा गरिएको थुप्रै लगानी र निरन्तर प्रयासले मात्र आफुहरुले इतिहास रच्न सफल भएको गाउँपालिकाका प्रवक्ता तथा शोभाखर गिरीले बताए ।

‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणाले मालिका गाउँपालिकाको स्वास्थ्य स्थितिमा सुधार हुनुको साथै गर्भावस्था र सुत्केरी अवस्थामा हुने मातृ तथा नवजात शिशु बिरामी दर र मृत्यु दर लाई शुन्यमा राख्नको लागि सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए ।

घोषणा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले समन्वय समितिको तर्फबाट गाउँपालिका जिल्लामा पहिलो ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गर्न सफल भएकोमा मालिकावासीलाई शुभकामना दिएका थिए । ‘मालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ ।’ जिल्ला समन्वय समिति गुल्मीका प्रमुख पराजुलीले भने, “स्थानीय तहको निर्वाचन पछि ४ वर्षमा मालिकाले गरेको निरन्तर प्रयासले गर्दा स्वास्थ्य क्षेत्रको विकासमा गाउँपालिका जिल्लामा पहिलो बनेको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.