वालिङ, कात्तिक ४ क्षमता भन्दा बढी यात्रु बोकेको जिपको ब्रेक फेल हुँदा स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज आइतबार दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नम्बरको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गल्याङ–७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ–८ बस्ने सङ्गीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।