काठमाडौं, असार १८: रुसमा जारी विश्वकपमा आएतबार भएको खेलमा पेनाल्टी सुटआउटमा पूर्व विजेता स्पेनलाई पेनाल्टी पराजित गर्दै आयोजक रुस इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
रुसको केन्द्रीय रंगशाला लुज्निकीमा ८१ हजार घरेलु दर्शकसामू रुसले पेनाल्टी शुटआउटमा ४-३ गोलअन्तरले स्पेनलाई हराएको हो । नियमित र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा स्पेनका कोके र इयागो आसपासको प्रहार रुसी गोलरक्षक इगर अकिनफिभले रोकेका थिए ।
स्पेनका लागि आन्द्रेस इनिएष्टा, सर्जियो रामोस र पिकेले गोल गरेका थिए भने रुसका लागि फ्योदोर स्मोलोभ, सेर्जेई इग्सानेभिच, अलेक्जान्दर गोलोभिन र डेनिस चेरिसेभले गोल गरेका थिए ।
यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । त्यस समयमा पनि दुवै तर्फबाट गोल हुन सकेन । एक हजारभन्दा बढी पास खेलेको स्पेनले गोल भने गर्न सकेन ।
खेलको १२औं मिनेटमै उपहार गोलमार्फत स्पेनले अग्रता लिएको थियो । स्पेनको प्रहार जोगाउने क्रममा रुसका सेर्जेई इग्सानेभिचले दुर्भाग्यवस आफ्नै पोष्टमा गोल गरेका थिए ।
नियमित खेलाडीहरु आन्द्रेस इनिएष्टा र ड्यानियल कार्भाजलबिना मैदानमा उत्रिएको स्पेनले खेलमा अधिकांश समय बल पोजिसन नियन्त्रणमा राखेको थियो ।
खेल अवधिभर ७० प्रतिशत बल पोजिसन बनाएको स्पेनले ४१औं मिनेटमा पेनाल्टीमा गोल खान पुग्यो । जेरार्ड पिकेले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई अर्तेम ज्युवाले गोलमा परिणत गरे ।
६७औं मिनेटमा इनिएष्टा र ७०औं मिनेटमा कार्बाहाल मैदान प्रवेश गरेपछि स्पेनको खेल सुध्रिएको थियो । ८४औं मिनेटमा इनिएष्टाको सशक्त प्रहार रुसी गोलरक्षक इगर अकिनफिभले बचाएका थिए ।