स्थानीय तहकाे निर्वाचनमा मतपत्र च्यात्ने दुई जनालाई एक/एक लाख जरिवाना

रिपोर्ट नेपाल | 2019 Jul 01 | 09:05 pm 2407

चितवन, असार १६ : स्थानीय तह निर्वाचनमा मतपत्र च्यातेको अभियोग लागेका दुई जनालाई सोमबार चितवन जिल्ला अदालतले एक/एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । भरतपुर महानगरपालिका १९ को मतगणना भइरहँदा मतपत्र च्यातेका तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानलाई अदालतले जेठ ३० मा दोषी ठहर्‍याएको थियो ।

जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर्‍याएको चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । जरिवाना हुने सजाय पनि श्रेष्ठकै इजलासबाट भएको हो । निर्वाचन आयोग मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरको जाहेरीले नेपाल सरकार वादी भएर उक्त मुद्दा दर्ता भएको थियो ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा १ को कसुरअनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको स्रेस्तेदार गिरीले जानकारी दिए । निर्वाचन कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ । शिवाकोटी र न्यौपानेलाई सत्तारूढ नेकपाले चितवन जिल्ला कार्यसमितिमा शपथ पनि गराइसकेको छ ।

यसअघि २४औं पटकसम्म पेसी तोकिए पनि सधैं स्थगन हुने गर्थ्यो । २७ औं पेसीमा मात्र यो मुद्दामा अन्तिम फैसला भएको हो । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अन्तिम हुँदै शिवाकोटी र न्यौपानेले गर्दा २०७४ जेठ १५ मध्यरातमा मतपत्र च्यातेका थिए । २९ वडा रहेको भरतपुरमा १९ नम्बरको मतगणना सकिनै लागेको थियो ।

मतपत्र च्यातिएपछि भरतपुर १९ मा फेरि मतदान भएर परिणाम घोषणा गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.