रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल | 2026 Nov 28 | 12:04 pm 189

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी लिएका छन् ।

शुक्रबार आयोजना गरिएको अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई आयोजनाको समग्र अवस्थाबारे जानकारी गराइएको थियो । आयोजना व्यवस्थापनका अनुसार हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ भने आर्थिक वर्ष २०८५/८६ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अनुगमनका क्रममा रुख कटानसम्बन्धी समस्याका कारण काममा देखिएको अवरोध समाधान गर्न मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए ।

कुल चार अर्ब ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको रूपाताल संरक्षण आयोजना वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन, पर्यापर्यटन विकास र स्थानीय आर्थिक गतिविधि विस्तारका दृष्टिले महत्वपूर्ण रहेको उनले बताए । रूपाताललाई पर्यावरणीय संरक्षणसँगै पर्यापर्यटनको नमूना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । यसबाट कास्कीका अन्य तालहरूको संरक्षण तथा व्यवस्थापनका लागि पनि आधार तयार हुने उनको भनाइ थियो ।

यसैबीच, मन्त्री श्रेष्ठले गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेटवार्ता गरेका छन् । भेटमा फेवातालसहित प्रदेशका विभिन्न ताल तथा जलाशयको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका विषयमा छलफल भएको थियो ।

सङ्घ र प्रदेश सरकारबीच समन्वय गरेर ऊर्जा विकास, जलस्रोतको बहुआयामिक प्रयोग, नदी नियन्त्रण, तटबन्ध निर्माण तथा सिँचाइ आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि दुई मन्त्रीबीच कुराकानी भएको जनाइएको छ ।

मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सबस्टेसनको समेत निरीक्षण गरी पोखरा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति तथा वितरण प्रणालीको अवस्थाबारे जानकारी लिए । उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क सङ्कलन, व्यवस्थापन र विश्लेषणका लागि डाटा सेन्टरको सञ्चालन तथा उपयोगिताबारे समेत चासो राखेका थिए ।

हिउँदमा आन्तरिक विद्युत् उत्पादन, बढ्दो खपत र अन्तरदेशीय विद्युत् व्यापारबीच सन्तुलन कायम गर्दै आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा मातहतका वितरण केन्द्रका प्रमुखहरूसँग विद्युत् वितरण प्रणाली र सेवा प्रवाहका चुनौतीबारे पनि छलफल गरिएको थियो ।

विद्युत् चुहावट नियन्त्रण, काठका पोल विस्थापन, सामुदायिक विद्युत् वितरण प्रणालीको व्यवस्थापन तथा बाढीपहिरोबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.