स्थगित स्ववियु निर्वाचन अनिश्चित

| 2023 Mar 21 | 07:59 am 1057

काठमाडौं, चैत ७ः त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ विपरीत स्थगित भएका क्याम्पसमा चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिएका छन् । उपकुलपति प्राडा बास्कोटाले आइतबार दिउँसो विज्ञप्ति जारी गरी स्थगित भएका क्याम्पसको स्ववियु निर्वाचन गर्न निर्देशन दिएपछि निर्वाचन प्रक्रिया शुरू नभएका क्याम्पसमा निर्वाचन गर्ने वा नगर्ने विषयमा अन्योल भएको छ ।

केन्द्रीय निर्वाचन तथा अनुगमन समितिले फागुन तेस्रो साता जारी गरेको १३ बुदे निर्देशिकामा स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख गरेको थियो । निर्देशिकाको दफा १२ को उपदफा ८ मा चैत ५ गते स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख छ ।
तर, उपकुलपति डा. बास्कोटाले चैत १२ गतेभित्र स्ववियु चुनाव गरिसक्न आग्रह गरेका छन् । ‘कुनै कारणवश शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन हुन नसक्ने अवस्था सिर्जना भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगित गरी ३० दिनभित्र मिति तोकी निर्वाचन गर्नुपर्नेछ’ –समितिले जारी गरेको निर्देशिकामा लेखिएको छ ।

‘उपकुलपति प्राडा बास्कोटाले समितिसँग सल्लाह नै नगरी एकाएक विज्ञप्ति जारी गरेपछि थप समस्या आएको छ’ –एक अधिकारीले नेपाल समाचारपत्रसँग भने । ‘त्रिविका पदाधिकारीसहितको बैठकबाट निर्देशिका जारी भएको हो, उपकुलपतिले निर्वाचन स्थगित भएको क्याम्पसमा १२ गतेभित्र गरिसक्न निर्देशन दिएपछि समस्या परेको छ’ –ती अधिकारीले भने ।

काठमाडौं उपत्यकाभित्रका ७ वटा क्याम्पसमा आइतबार स्ववियु चुनाव हुन सकेन । उपत्यका बाहिरका १४ क्याम्पसमा रोकिएको छ । त्रिविको ६२ आंगिक क्याम्पसमध्ये ३९ वटामा मात्र चैत ५ गते निर्वाचन भएको थियो ।

स्थगित भएकामध्ये केहीमा भर्ना विवाद देखिएको छ । केहीमा विद्यार्थी संगठनबीचको विवादले रोकिएको छ । विद्यार्थी संगठनको विवादले पाटन संयुक्त, त्रिचन्द्र, आरआरलगायतका क्याम्पसमा तालाबन्दी भएको छ । उपत्यका बाहिर केही क्याम्पसले पर्सि चैत ८ गते निर्वाचन गर्ने तयारी गरेका छन् । स्थगित अधिकांश क्याम्पसमा विवाद साम्य हुन सकेको छैन ।

उपकुलपति बास्कोटाले निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा सबै निकायलाई धन्यवादसमेत दिएका थिए । तर, उनले निर्देशिका अध्ययन नगरी विज्ञप्ति जारी गरेकोमा निर्वाचन समिति नै आश्चर्यचकित भएको छ ।

आइतबार स्थगित २१ वटा आंगिक क्याम्पसमा निर्देशिकामा उल्लेख भएअनुसार ३० दिनभत्र निर्वाचन गर्न निर्वाचन समितिले आग्रह गरेको छ । आइतबार उपत्यकाका १५ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

उपत्यकाका विश्वभाषा, त्रिचन्द्र, रत्नराज्य, पाटनसंयुक्त, केन्द्रीय आयुर्वेद, मीनभवन र अस्कल क्याम्पसको मतदान स्थगित भएको छ । ती क्याम्पसको निर्वाचन गर्ने विषयमा क्याम्पस प्रमुख र निर्वाचन समितिले निर्णय गर्नेछ ।

समितिले स्थगितमध्ये भैरहवाको पक्लिहवा कृषि, दाङको महेन्द्र बहुमुखी, भैरहवा बहुमुखी र नेपालगञ्जको महेन्द्र क्याम्पसमा यही ९ गते हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

त्रिविअन्तर्गत ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालित छन् । तीमध्ये दुई आंगिकसहित करिब २ सय ५० क्याम्पसको मत परिणाम आइसकेको छ । परिणामअनुसार अनेरास्ववियुले हालसम्म उपत्यकाका ६ सहित १०६ क्याम्पसमा विजय हासिल गरेको अध्यक्ष समिक बडालले जानकारी दिए ।

नेबिसंघका कार्यालय सचिव विजय खड्काका अनुसार नेविसंघले उपत्यकाका ७ सहित ७९ क्याम्पसमा विजय हासिल गरेको छ । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले उपत्यकाको २ सहित ४७ क्याम्पस, नेकपा एस निकट अनेरास्ववियु ५, विप्लव निकट अनेरास्ववियु ४ जसपा १ तथा नागरिक उन्मुक्तिले १ स्थानमा विजय हासिल गरेको जानकारी दिए । विद्यार्थी संगठनको तथ्यांकअनुसार क्याम्पसमा सभापति विजयी भएका उम्मेदवारको आधारमा संख्या तय गरेका हुन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.