स्कुलबाटै एक बालिकाको अपहरण गरी १६ लाख फिरौती माग

रिपोर्ट नेपाल | 2020 Feb 02 | 09:25 pm 1401

भक्तपुर, माघ १९: भक्तपुरबाट आइतबार स्कुलबाटै एक बालिकाको अपहरण गरिएको छ ।

भक्तपुरको सूर्यविनायकस्थित ग्लोरी बोर्डिङ स्कुलको युकेजीमा पढ्ने ६ वर्षकी गृष्मा राउत (नाम परिवर्तन) लाई अपरिचित व्यक्तिले आइतबार दिउँसो अपहरण गरेका हुन् ।

विद्यालयमा आफू अभिभावक भएको बताएको थियो भने बालिकालाई ‘बाबालाई भेटाई दिने’ भन्दै मोटरसाइकलमा राखेर घ्याम्पेडाँडा पुर्‍याएको स्रोतले जानकारी दिएको छ ।

‘बाबालाई भेटाई दिन्छु भन्दै मोटरसाइकलमा राखेर लगेको पाइयो’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, ‘घ्याम्पेडाँडामा लगेर बालिकालाई गेम खेलौं भनेर हात बाँधिदिएछ । बालिका रुन थालेपछि घुम्न गएकाहरुले देखेछन् । त्यहाँबाट अपहरणकारी भागेछ । त्योबीचमा परिवारमा फोन गरेर १६ लाख फिरौती मागेको पाइएको छ ।

परिवारले छोरी अपहरणमा परेको प्रहरीलाई जानकारी गराएका थिए । अनुसन्धानमा खटिएको प्रहरी टोलीसँगै रहेको परिवारलाई अपहरणकारीले पैसा लिएर ठिमीस्थित भाटभटेनी अगाडि आउन भनेको थियो । परिवारसँगै त्यहाँ पुगेको प्रहरी टोलीले अपहरणकारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अपहरण भएको ५ घण्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

‘हात बाँधेर राखिएको अवस्थामा बालिका रोएपछि घुम्न गएका मान्छे नजिक आएछन्’, प्रहरी स्रोतले भन्यो, ‘परिवारकै सम्पर्कमा रहेको अपहरणकारी त्यसपछि साइड लागेछ ।’ घुम्न गएका व्यक्तिहरुले बालिकालाई सोधपुछ गरेपछि घर पुर्‍याई दिएको प्रहरीले जनाएको छ ।

अपहरणकारीले बालिकाको अपहरण गरिसकेपछि १६ लाख रुपैयाँ परिवारसँग माग गरेको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् । उनले भने, ‘बालिकालाई घ्याम्पेडाँडामा लगेर पछाडि हात बाँधी राखेको तर, बालिका रोई कराई गरेपछि निज अपहरणकारी घुम्न आउने मानिसले रोएको आवाज सुन्ने डरले भागेको पाइयो’, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.