सौराहाको पर्यटनमा महानिरीक्षक खनालको चासो

| 2018 Dec 03 | 03:00 pm 2239

चितवन, मंसिर १७  : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको आर्थिक विकासका लागि पर्यटन व्यवसाय महत्वपूर्ण भएको बताएका छन् । सोमबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले पर्यटन व्यवसाय र पर्यटकको सुरक्षाको लागि नेपाल प्रहरी जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका हुन् ।

व्यवसायी र जनताले बुझाएको करबाट रासन र आसन लिने प्रहरी जनताको जीउधन, व्यवसाय र सुरक्षाको लागि लोभ लालचमा नलागि कर्तव्यनिष्ठ भएर लाग्नु पर्ने बताएका थिए । प्रहरी भित्रका एक दुई धमिराको नालायकीपनलाई लिएर सिङ्गो संगठन माथि प्रश्न चिह्न उठाउँन नहुने महानिरीक्षक खनालको भनाई रहेको थियो ।

महानिरीक्षक खनालले सौराहाको सुरक्षालाई चुस्त दुरुस्त राख्न मातहतका निकायलाई निर्देशन दिँदै गस्तीका लागि ७ वटा मोटरसाइकल १० वटा संचार सेट र एउटा वेस सेट पनि आजै प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा व्यवसायीले पनि मर्यादालाई ख्याल गरी आफ्नो अधिकारको खोजि गर्दा अरुको अधिकार खोसिने गरी हो हल्ला तथा अमर्यादित गतिविधी गर्न नपाइने प्रस्ट्याएका थिए ।

पर्यटकीय स्थलमा त्यहाँको गतिविधी हेरेर समय सिमा निर्धारण गर्न सकिने भन्दै महानिरीक्षक खनालले अशिष्ट र छाडा प्रवृत्तीले  देशकै बेइजत हुने भएकोले सचेत रहन व्यवसायीलाई आग्रह गरेका थिए ।

चितवनको पर्यटनमा प्रहरीको भूमिका विषयक उक्त कार्यक्रममा त्यस क्षेत्रका सुरक्षासँग सम्बन्धीत सबै निकायका अधिकारी लगायत व्यवसायीको उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.