काठमाडौं, असार ३० : आज बिहान एक टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ एक युवतीले ज्यान गुमाएकी छन् । टिपरको अत्यधिक लापर्वाही देखेपछि सरकारले उपत्यकामा बिहान पाँच बजेदेखि राति आठ बजेसम्म टिपर चलाउन रोक लगाएको थियो । रोक लगाएको एक साता बित्न नपाउदै एक टिपरले आज शनिबार फेरि एक जनाको ज्यान लिएको छ ।
राजधानीको सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते भएका छन्। घाइते अनुजाको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ललितपुरको चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको टिपरले सोल्टीमोडमा ठक्कर दिएको थियो। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।