सोनाम ल्होछारका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा काँग्रेस सभापतिकाे शुभकामना

रिपोर्ट नेपाल | 2023 Jan 22 | 07:49 am 1077

काठमाडौँ, माघ ८ः राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि   शुभकामना व्यक्त गरेकी छन्।

उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास व्यक्त गरेकी छन्।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्त्व बोकेका थुप्रै पर्व रहेको उनले बताएका छन्। ल्होछार पर्वको अवसरमा एक शुभकामना दिदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जातजातिको आआफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

उनले तामाङ जातिको अत्यन्त महत्त्वपूर्ण पर्व ‘सोनाम ल्होछार’का अवसरमा शुभकामना दिँदै पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएको बताएका छन्। सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको उनले बताए । साथै तामाङ समुदायको नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा उले शुभकामना दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.