काठमाडौं, वैशाख १३: नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सकलदर्जालाई शिक्षित बनाउने उद्देश्यले २०७६ वैशाख ६ गतेदेखि संचालन भएको सैनिक आचार संहिता २०७६ सप्ताहको आज शुक्रबार बलाधिकृत रथी शरद गिरीले एक विशेष समारोहकाबीच जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा समापन गरेका छन् ।
सप्ताहको समापन गर्दै बलाधिकृत रथी गिरीले उत्कृष्ट सैनिक अनुशासन र आचरण सहितको सैनिक चरित्रको विकास गर्ने लगायतका उद्देश्यहरुसहित प्रधानसेनापतिको अभिप्राय एवं निर्देशनमा प्रत्येक वर्षको पहिलो महिनाको पहिलो हप्ता देशभर तथा विदेशमा तैनाथ नेपाली सेनाका सबै निकायहरुमा आचार संहिता सप्ताह मनाउने योजना अनुरुप प्रथम पटक यस कार्यक्रमको आयोजना गरिएको बताए ।

सैनिक चरित्रको थप उत्थान तथा विकासका लागि संस्थाका मुल्य मान्यता एवं मार्ग निर्देशक सिद्धान्तहरुलगायत हामीलाई थाहा भएका कैयन् विषयहरुलाई पुनः स्मरण गर्ने र एउटा सिपाही तथा जिम्मेवार नागरिकका रुपमा कर्तव्यपालनाका क्रममा गर्नु पर्ने, गर्न हुने र गर्न नहुने विषयहरुमा विद्यमान अस्पष्टताहरु हटाउंदै समग्र सचेतना अभिवृद्धि गर्ने कुरामा आचार संहिता सप्ताहले नयाँ आयाम शुरुवात गरेको कुरामा आफू विश्वस्त रहेको समेत बताएका थिए ।
आचार संहिताको (सप्ताह सैनिक सदाचारको उत्साह) भन्ने मूल नाराका साथ विदाको दिन बाहेक ७ दिनसम्म संचालन भएको उक्त कार्यक्रममा नेपाली सेनाका विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय, पृतना, बाहिनी, गण र गुल्मका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो जिम्मेवारी तथा भुमिकाको बारेमा कक्षाहरु सञ्चालन गरेका थिए ।
यस आचार संहिता सप्ताहले सकलदर्जालाई थप शिक्षित, सचेत, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ बनाएको विश्वास नेपाली सेनाले लिएको छ ।
उक्त सप्ताहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिकलगायत सकलदर्जाको उत्साहपूर्ण उल्लेखनीय सहभागिता रहेको थियो ।