काठमाडौ- पूर्वका थारु समुदायले भदौ महिनाको पहिलो आइतबार आज ‘रैब पर्व’ मनाउँदैछन्। तिथि अनुसार भदौ महिनाको १ गते आइतवारलाई थारु भाषामा ‘रैबदिन’ वा रैब पर्व भन्ने गरिन्छ। उक्त दिन घरमा दही,दूध, चिउरा,चिनी, जेरी,फलफुल लगायत गुलियो खानेकुराहरु खाएर मनाउने गरिन्छ। तर नुन, तेल, माछा, मासु खान मनाही गरिएको हुन्छ।
खासगरी, खेतीपाती रोपाई सकिएपछि बाली सप्रिने तथा उब्जा बढी हुने धार्मिक मान्यताका साथ पूर्वी सिरहा सप्तरी, उदयपुर, सुनसरी,मोरङ लगायतका थारु समुदायले रैब पर्व मनाउँदै आएको थारु संस्कृति विद् भुलाई चौधरीले बताए।
उनका अनुसार थारु समुदाय प्रकृति पुजक भएकाले बालबच्चाको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै प्रकृति र कुल देवतालाई पूजा गरी यो पर्व मनाइन्छ। उनी भन्छन्,’ थारुहरु प्रकृतिका पूजारी हुन।त्यसकारण प्रकृतिमा पाइने फलफूल, दूध, दही खानुपर्छ।सूर्य प्रकृतिमा सबैमा ठूलो शक्तिको स्रोत भएकाले यसको उपासना गरिन्छ, सन्तानको समृद्धि र सुस्वास्थ्यको लागि।’
भदौको कुनै एक आइतवार रैब पर्व मनाउँदा धान बाली सप्रिने, घर परिवारमा कुनै किसिमका रोग ब्याधि नआउने जनविश्वास रहिआएको रैब पर्व मनाउँदै आएका चौदण्डीगढी नगरपालिका वडा-९ हडिया हडियाँ, बकैनियाका अगुवा शिवशंकर चौधरीले बताए। उनका अनुसार दही, चिउरा,सातु खाएर रैब पर्व मनाउने गरिन्छ।
उनी भन्छन्,’ प्रकृति पूजकले जीवन एक दिन सात्विक भोजन गरेर व्रत बसौ।र आपसमा सद्भाव, भेटघाट, माया र स्नेह आफन्तहरुबी साटासाट गरौ। प्रकृतिप्रति वैरभाव नराखौ। यही शाश्वत नियम हो। प्रकृतिप्रदत्त उपहारहरु फलफूल खाऔ,जीवन आनन्द बनाऔ र ‘रैब पर्व’ मनाऔ।’
यस्तै पर्व गरेका दिन कसैले नुन वा तेल खाए भने रैव पर्व असफल भई कुलदेवताले साथ नदिने अनिष्ठ हुने धार्मिक मान्यता रहेको छ। यस्तै अर्को मान्यता अनुसार बर्षाको समयमा तराईमा सर्पको बिगबिगी हुने हुँदा सर्पले कसैलाई पनि अनिष्ट नगरोस भनेर पर्वकै दिन महिलाहरुले बिष हरण गर्ने पौराणिक गीत बिषहैर गाउँदै नदि वा पोखरीमा नागदेवतालाई प्रतिमूर्ति बनाई बिर्सजन गर्ने गरिन्छ।
त्यसैगरी खेतिपाति रोपाई गर्दा अवस्थामा हल्लो जोत्ने र खेत रोप्ने कृषकहरु नुन र खुर्सानी बढी खाने भएकाले प्रेसर बढने हुँदा त्यसको सन्तुलनको लागि पनि एक दिन नुन तेल बार्ने चलन रहेको छ।