सुलभ अग्रवालमाथि अनुसन्धानका लागि तेस्रोपटक १० दिनको म्याद थप

रिपोर्ट नेपाल | 2020 Apr 20 | 09:18 am 1508

काठमाडौं, बैशाख ८ः जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ । अग्रवालले धेरै विषय लुकाएको र उनीसँगको कनेक्सनमा रहेका अन्य गिरोहको समेत खोजी गर्नुपर्ने भएकाले अनुसन्धान अझै गहिराइमा गएर गर्नुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । सोही निष्कर्षबमोजिम प्रहरीले अग्रवालमाथि १० दिनको म्याद थप गर्न प्रशासनसँग समय मागेको हो ।

प्रहरीको मागबमोजिम काठमाडौं प्रशासनले अग्रवालमाथिको अनुसन्धान जारी राख्न आइतबार १० दिनको म्याद थप गरेको हो । सुरुमा ५ दिन र त्यसपछि ७ दिन म्याद थप गर्दा पनि अनुसन्धान पूरा नभएपछि प्रहरीले आइतबार पुनः म्याद थपका लागि अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौं पुर्याएको थियो ।

अनुसन्धानका क्रममा अग्रवालले प्रहरीसमक्ष स्पष्ट बयान नदिएपछि प्रहरीले उनीसँगको अन्य व्यक्तिको संलग्नतासमेत खोजी गरिरहेको छ । यसैगरी, उनले के कति परिमाणमा सामान ल्याएका थिए र ती सामान के के थिए भन्नेतर्फ समेत प्रहरीले व्यापक अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले अग्रवालसँगको अनुसन्धानका क्रममा स्पष्ट बयान नआएकाले प्रहरीले अन्य थप संलग्नतासमेत खोजी गरिरहेको बताए ।

‘अनुसन्धान जारी छ, अहिलेसम्म स्पष्ट बयान आएन । के के सामान कति ल्याइएको थियो भन्ने पनि खुलेन । उनीसँग अन्य को को व्यक्तिको संलग्नता थियो भन्नेतर्फ पनि अनुसन्धान गर्दै छौं,’ परिसर प्रमुख सुवेदीले भने ।

थर्मल गनमा कालोबजारी गरेको आरोप लागेका अग्रवालमाथि अनुसन्धान गर्न आइतबार १० दिन म्याद थप गर्ने निर्णय गरिएको छ ।

प्रहरी स्रोतका अनुसार यस प्रकरणलाई गहन रूपमा अघि बढाइने र अग्रवालका कालोबजारी गर्ने जालो खोज्ने योजनाका साथ यो मुद्दालाई गम्भीरतासाथ अघि बढाइने भएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.