काठमाडौं, साउन ३१: यही भदौ १४ र १५ गते हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन्। सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटना गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने तयार पनि थियो।
भारतीय दूतावास र नेपाल सरकार त्यसको तयारीमा जुटिसकेका थिए। तर, मोदीले सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आएर लुम्बनी र पोखराको भ्रमण रद्द गरेका छन्।
यसअघि पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने मोदीको तयारी विभिन्न कारणले स्थगित हुँदै आएको थियो।
यसपटक जसरी पनि लुम्बिनी र पोखराको भ्रमण गरेको तयारी भएपनि सुरक्षा ‘थ्रेट’ भएको भन्दै भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ ।
‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि आएका हुन्छन्। सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने हुन्छ। त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने हुन्छ,’ दूतावस स्रोतले भन्यो ।
त्यसले गर्दा समस्या देखिएको हुनाले भारतकै तर्फबाट यसपटक पोखरा र लुम्बिनीको भ्रमण नगर्ने जानकारी पठाएको बताइएको छ।
२०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदी जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारीमा थिए।
तर, अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द भएपछि प्रधानमन्त्री मोदीले आफैं लुम्बनी भ्रमणसमेत रद्द गरेका थिए। जनकपुरको भ्रमण रद्द भएपछि लुम्बिनीको मात्र भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै त्यतिबेला भ्रमण रद्द गरेको थियो।
जनकपुर र मुस्ताङको भ्रमण गरिसकेका मोदी यसपटक पोखरा हुँदै लुम्बनी जाने तयारी थियो। हुनत वैशाख २८ र २९ गते नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङबाट पोखरा हुँदै फर्किने तयारी थियो ।
पोखरामा पनि त्यही अनुसारको तयारी थियो तर पछि उनी मुस्ताङबाट सिधै काठमाडौमा फर्केका थिए।