सुदूरका पहाडी जिल्लामा फेरि हिमपात, जनजीवन कष्टकर बन्दै

| 2019 Feb 26 | 10:48 am 2145

मार्तडी, फागुन १४: सुदूपश्‍चिम प्रदेशका पहाडी जिल्लामा फेरि हिमपात भएको छ। बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको हो। माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

गत माघ पहिलो साताबाट जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएको थियो । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा बन्द भएका छन् । हिमपात र अत्यधिक वर्षाले ग्रामीण सडक अवरुद्ध भएपछि छोटो दूरीका सवारीसाधन चल्न छाडेको जयमालिका यातायात प्रालिका उपाध्यक्ष पृथ्वी रावलले बताए। यातायात बन्द हँुदा कामका लागि सदरमुकाम आवतजावत गर्ने स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

लगातारको वर्षा र पटकपटकको हिमपातका कारण वृद्धवृद्धा, बालबालिका र विरामीलाई समस्या भएको छ । उत्तरी क्षेत्रको कोल्टीस्थित कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पतालका लागि सिफारिश गरिएका बिरामीलाई आवतजातवत गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए।

वर्षाका कारण आंशिकरूपमा यातायातका साधन बन्द भएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताए। मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा ४ देखी ५ फिट हिउँ जमेको छ । माघ पहिलो सातादेखि नै उत्तरी भेगको यातायात पुर्ण रुपमा बन्द भएको छ ।

जिल्लामा लगातार हिमपात हुँदा हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बनेको छ । चिसोका कारण विद्यार्थी विद्यालय आउन छाडेको बूढीनन्दा नगरपालिकास्थित कालिका प्राथमिक विद्यालयका प्रधानाध्यापक नन्दुबहादुर रौलेले बताए। विद्यार्थी नियमित आउन छाडेका छन् । विद्यालय बन्द गर्नु परेको उहाँले बताउनुभयो । चिसोका कारण विद्यार्थी बिरामी हुने सम्भावना बढेको रौलेको भनाइ छ । बडिमालिका, बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नथ, गौमुल, खप्तड छेडेदह गाउँपालिकको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्था हिमपातका कारण प्रभावित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.