सुकेटार–विराटनगर परीक्षण उडान

| 2022 Dec 02 | 10:56 am 1841

ताप्लेजुङ, मङ्सिर १६ः नेपाल वायु सेवा निगमले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको छ । उडान बन्द भएको करिब १४ वर्षपछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट विराटनगर विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको हो ।

ताप्लेजुङस्थित निगमका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बिहीबार निगमको ट्विनअटर जहाजले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको जानकारी दिए । इन्चार्ज लिम्बूका अनुसार सुरुमा जहाज काठमाडौँबाट ताप्लेजुङ आएर उतै फर्किएको थियो । दोस्रो पटक पुनः ताप्लेजुङ आएको जहाज यात्रु ओरालेर परीक्षण उडानका लागि विराटनगर गएको र विराटनगरदेखि ताप्लेजुङ नै आएर यहाँबाट काठमाडौँका यात्रु लिएर जहाज फर्किएको इन्चार्ज लिम्बूले बताए ।

विगत २०६५ सालयता नेपाल एयरलाइन्सले ताप्लेजुङ–विराटनगर उडान गरेको थिएन । सो समयभन्दा अघि भने निगमले विराटनगर–ताप्लेजुङ नियमित उडान गर्ने गरेको थियो । ताप्लेजुङ–विराटनगरको नियमित उडान रोकिएपछि लामो समय अर्थात् १४ वर्षसम्म काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ मात्र उडान हुँदै आएको थियो ।

पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगर भएपछि ताप्लेजुङ–विराटनगर उडान गर्नुपर्ने माग हुँदै आएको छ । यात्रु तथा सेवाग्राहीको मागलाई दृष्टिगत गर्दै ताप्लेजुङ–विराटनगर उडान सञ्चालन गर्ने तयारी स्वरूप परीक्षण उडान गरिएको बताइएको छ । गाेरखापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.