सीमामा बलियो काँडेतार लगाउनु पर्नेमा सीमाविद् र कूटनीतिज्ञको जोड

| 2018 Sep 05 | 05:15 pm 2170

काठमाडौं, भदौ २० : नेपाल-भारत र नेपाल-चीनको सीमानामा सरकारले नियमनलाई प्रभावकारी बनाउनुपर्ने सीमाविद् र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरूले धारणा राखेका छन्। स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालले बुधबार राजधानीमा आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना : अवसर र चुनौती’ विषयक गोष्ठीमा बोल्दै सीमाविद् र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरूले उक्त कुरा बताएका हुन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले खुला सीमाना नेपालका लागि अवसर र चुनौती दुवै भएको बताए। उनले नेपाल भारत सीमानामा काँडेतार लगाउनुपर्ने र मान्छे वारपार गर्नका लागि निश्चित नाका बनाउनुपर्ने धारणा राखेका थिए। ‘खुला सीमानाले दुवै देशका नागरिकलाई स्वास्थ्य उपचार, जनजीविका, सीमापार रहेका आफन्तलाई भेट्ने सहजता, श्रम गर्ने अवसर तथा सेवा र सुविधा दिएको छ’, उनले भने, ‘यससँगै खुला सीमानालाई अपराधीहरूले हदैसम्म दुरुपयोग गरेका छन्। क्रस बर्डर आतंक बढेको छ। एक देशमा अपराध गर्ने र अर्को देशमा लुक्ने प्रवृति मौलाएको छ।’

उनले यस्तो समस्या समाधानका लागि १० देखि १५ वर्षभित्र सीमानामा आवागमन नाका बनाएर बलियो काँडेतार लगाउने उपाय अपनाउनुपर्ने बताए। उनले पहिले पनि सीमा पार गर्दा परिचयपत्र अथवा राहदानीको व्यवस्था भएकाले अबको दिनमा सरकारले त्यो विकल्पमा जानुपर्ने धारणा राखेका थिए।

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले सीमा व्यवस्थापनमा समय सापेक्ष नीति लिनुपर्ने बताए। उनले भने, ‘हाम्रा गतिविधि र नीतिहरूमा पुनरावलोकन गर्नुपर्दछ। अध्ययन र अनुसन्धानबाट अब क्रमशः नियमनको काम गर्नुपर्छ।’ उनले सीमानामा भारत र नेपालबीच समन्वय नभएका कारण डुबानका समस्या देखिएको र नेपालले त्यो समस्या समाधान गर्नका लागि पानीबाट आम्दानी गर्ने नीति लिनुपर्ने बताए।

उनले खुला सीमानामा कडाइ नभएका कारण नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा बदनामी हुने गरेको पनि बताए। उनले भने, ‘भारतीय अपराधी जहाँबाट पक्राउ परेपनि प्रहरीले नेपाली नागरिकता भेट्ने लाजमर्दो स्थिति छ। उनीहरू अपराधमा पक्राउ परेपछि नेपाली नागरिक हुँ भनेर नागरिकता देखाउने गरेका छन्। खुला सीमानाका कारण नेपाली नागरिकता लिएकाले यस्तो भएको हो।’

डा. उद्दव प्याकुरेलले नेपाल खुला सीमानाको पक्षमा उभिनुपर्ने धारणा राखेका थिए। उनले खुला सीमानाका अवसरलाई सदुपयोग गर्दै चुनौती कम गर्न राज्य संयन्त्र बलियो बनाउनुपर्ने बताए। उनले नेपालका अन्तर्राष्ट्रिय सीमाना भारतसँग खुला र अर्ध खुला तथा चीनसँग बन्द र अर्ध खुलाको अवस्थामा रहेको बताए।

उनले नेपाल भारतका कतिपय सीमा नाकामा दुवै तर्फबाट सुरक्षा निकायले नियमन गरिरहेको बताएका छन्। उनले भने, ‘सीमानामा मान्छेको मात्रै हैन वस्तु र सेवाको पनि आवतजावत हुन्छ। नेपालको सन्दर्भमा सीमानाहरू खुल्ला, नियमन र बन्द अवस्थामा रहेका छन्।’ उनले सीमानामा देखिएका चुनौतीलाई सुरक्षा निकाय र सरकारले समाधान गर्नुपर्ने बताए।

त्रिभुवन विश्वविद्यालय परराष्ट्रमामिला अध्ययन केन्द्रकी उप निर्देशक डा इन्द्रकुमारी अधिकारीले खुला सीमानाका कारण नेपाललाई भन्दा भारतलाई फाइदा भइरहेको बताएकी छन्। उनले सीमानाबारे निर्णय लिँदा त्यहाँ बस्ने दुवैतर्फका जनताको अवस्था बुझेर निर्णय लिनुपर्ने बताइन्।

त्यसैगरी, पूर्व राजदूत विजयकान्त कर्णले सीमानाको समस्याबारे दिल्ली र काठमाडौंमा बसेर निर्णय लिनेभन्दापनि सीमानाका समस्या बुझेर काम गर्नुपर्ने बताए। उनले सीमानामा भारत र नेपालबीच सामाजिक घुलमिल भएकाले त्यहाँको अवस्थालाई मध्येनजर गर्नुपर्ने बताए। ु

परराष्ट्र मामिलाका जानकार डा। प्रद्धुम्नविक्रम शाहले सीमा समस्या तत्काल समाधान गर्न नेपाल सरकारले अग्रसरता देखाउनुपर्ने धारणा राखेका थिए। उनले सीमानामा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.