रुकुम पूर्व, चैत २३ः रुकुम पूर्वमा सिस्नो टिप्न गएका दुई बालिका मृत्त भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका– ३ रन्मामा ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
तारामान बुढाका दुई छोरी बुधबार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।
सिस्नो टिप्न गएका दिदी–बहिनी नफर्किएपछि खोजी गर्दा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका हुन् । सूचनापछि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।