सिवाइसी अत्तरियाले उचाल्‍यो डिपिएल-३ को उपाधी

| 2019 Feb 23 | 04:18 pm 1866

धनगढी, फागुन ११: सन्‍नी पटेलको अलराउण्डर प्रदर्शनको मद्दतले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले पहिलो पटक डिपिएलको उपाधि जितेको हो । दिपेन्द्र सिंह ऐरीले आफ्नो कप्तानमा पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जिताएका हुन्।

यसअधि उने कप्तानी गरेका कुनै पनि टिम फाइनल पुगेका थिएनन् । उनको कप्तानीमा पहिलो पटक फाइनल पुग्दै उपाधि समेत उचालेको छ । यससँगै अत्तरियाले ३० लाख प्राप्त गरेको छ भने दोस्रो बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ ।

महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९‍.५ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो । अत्तरियाका लागि सन्नी पटेलले ४७ रन जोडे । उनले २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । उनले यसअघि चार ओभरमा बलिङ् गर्दै मात्र ११ रन खर्चेर दुई विकेट लिएका थिए । त्यस्तै जयकिसन कोल्सावालाले ३० रन जोडे । उनले २७ बल खेल्दै पाँच चौका प्रहार गरेका थिए । कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

महेन्द्रनगरका लागि सागर ढकाल र मोहामद नाभिदले समान दुई दुई विकेट लिए । त्यस्तै साहद आलम र अभिनास बोहराले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रन जोडेको थियो । खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन जोडे । उनले ४१ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोडेका हुन् ।

त्यस्तै कुसल मल्लले २२ बलको सामना गर्दै एक चौका र दुई छक्काको मद्दतले २५ रन जोडे । रोहित कुमार पौडेलले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडे । आरिफ सेखले ११, मोहमद नाभिदले १० रन जोडे ।

अत्तरियाका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र सिंह रावतले समन दुई दुई तथा सन्नी पटेलले एक विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.