सिमानाकामा माैलायो तस्करी, सरोकारवाला माैन

| 2023 Oct 16 | 07:51 am 3845

सर्लाही, असोज २९ । भारतीय बजारसँगै जोडिएका सर्लाहीका सीमानाकाहरूबाट पछिल्लो समय तस्करी निकै मौलाउँदै गएको छ | जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ |

नाकाहरू, संग्रामपुर, नारायणपुर, त्रिभुवननगर, खुटौना भाडसर, मधुवन गोठ, बाराउधोरण, बहादुरुरपुर, अर्नाहा, मधुवनी गाउँ, बलरा, छनकी टोला, पर्सामा गरि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सारका कर्मचारीहरूकै आर्थिक सेटिङमा तस्करहरूले चौबिसैघण्टा खुलेआम रूपमा तस्करी गरिरहेको स्थानीयहरू आरोप लगाउँछन् |

सशस्त्र प्रहरीवलको दुई वटा प्रस्तावित सिमा सुरक्षा गुल्म, ९ वटा बिओपी र नेपाल प्रहरीको सोही सीमानाका क्षेत्रमा ३ वटा इलाका र १६ वटा चौकी रहे पनि तस्करहरूले लाइन क्लियर गर्न इलाका प्रमुख र चौकी प्रमुख समेतलाई मोटो रकम तिरेर तस्करको राज चलेको आरोप छ |

सिमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूलेनै नजराना लिएर आफूहरूको संरक्षण गर्ने गरेका नाम उल्लेख नगर्ने सर्तमा एक जना तस्करीमा संलग्नले बताए | उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रूपमा आफूहरूले लाखौं रुपैयाँ बुझाएर मात्र माल समान ओसार पसार गर्ने गरेका छौँ |’

भारतीय बजारबाट भन्सार छली गरी ल्याइएका सामान भण्डारण गरिने मलंगवा, वयलवास, बरहथवा, हरिवन र लालबन्दीका गोदामबारे स्थानीयवासी जानकार रहे पनि प्रहरी प्रशासन बेखबर झैँ गुमनाम भएर बसेका छन् |

राज्यले नै आर्थिक सङ्कट झेलिरहेको अवस्थामा राजश्व छली गरी भारतीय बजारसँगै जोडिएका सीमानाकामा विगत लामो समयदेखि तस्करी भइरहँदा र सुरक्षा निकायका प्रमुखदेखि भन्सार कर्मचारीले मोटो रकम असुली गरिरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन् |

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.