सिद्धलेकका ८ स्वास्थ्य संस्था बन्द, सेवा नपाई फर्किए स्थानीय

| 2023 Jul 19 | 06:51 am 1161

–करारका २८ स्वास्थ्यकर्मी निष्कासित
–लम्पीस्किन उपचार सेवा पनि प्रभावित

धादिङ, साउन ३। आर्थिक वर्षको अन्तिम दिन सिद्धलेक गाउँपालिकाले करारका स्वास्थ्यकर्मी निकालेपछि स्वास्थ्यसेवा र भेटेनरी सेवा बन्द भएको छ । करारका कर्मचारीको सेवा अवधि एक वर्षको हुने भए पनि सिद्धलेक गाउँपालिकाले आर्थिक वर्षको अन्तिम दिन स्वास्थ्य सेवा नै बन्द हुने गरी कर्मचारी निकालेको छ भने भेटेनरी प्राविधिकको करार सम्झौता सकिएकाले काम नगर्नु भनेपछि महामारीको रूप लिएको लम्पी स्किन उपचार सेवा नै बन्द भएको छ ।

सिद्धलेक गाउँपालकाले २८ जना स्वाथ्य सेवाका अहेब, अनमीलगायतका कर्मचारीको करार अवधि सकिएको भन्ने सूचना गाउँपालिकाका प्रवक्ता सागर गुरुङले असार ३१ गते प्रेस विज्ञप्ति निकालेर जानकारी गराएपछि गाउँपालिकाभित्रका ८स्वास्थ्य संस्थाहरू बन्द भएका छन् । केही स्वास्थ्य संस्थामा त सोमबार ताला लागेको छ भने केहीमा पालिकाका ज्यालादारी कर्मचारीलाई राखेर खोल्न लगाइएको पाइएको छ ।

पालिकाले राखेका करारका कर्मचारी हटाउने सूचना गरेका कारण वडानम्बर ३ को सयपत्री स्वास्थ्यसेवा बिन्दु बन्द भएको छ । स्वास्थ्यसेवा लिन आएका नागरिकहरू अहेब नभएका कारण यत्तिकै फर्किएको स्थानीय होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षको घरसमेत रहेको वडानम्बर ७ को आदमटार आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि बन्द भएको छ ।

स्वास्थ्यकर्मी नभएपछि वडानम्बर १ को बलदेवी आधारभूत स्वाथ्यसेवा केन्द्र, वडानम्बर ४ को सलाङघाट आधारभूत स्वास्थ्यसेवा केन्द्र, वडानम्बर २ को पात्ले सामुदायिक स्वास्थ्य बिन्दु, वडानम्बर ५ को बाघबच्छला आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडानम्बर ७ मा रहेको जालपा सामुदायिक स्वास्थ्य बिन्दु, वडा नम्बर ४ को कालिका बर्थिङ सेन्टरसमेत प्रभावित भएको छ । यी सबैमा पालिकाले व्यवस्थापन गरी जनताको स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि कर्मचारी राखेर स्वास्थ्य सेवा दिँदै आएकोमा आफ्ना मानिस नभएको भन्दै पालिकाले गलत नजीर बस्ने गरी बिनामूल्यांकन स्वाथ्यकर्मी हटाएर जनताको स्वास्थ्य सेवामा खेलवाड गरेको सिद्धलेक गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।

सम्झौता सकिनु अगाडि नै नयाँ कर्मचारी राख्ने हो भने स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयमा गम्भीर भएर नयाँ राख्ने कर्मचारीको व्यवस्थापन गरिसक्नुपर्नेमा गर्न नसके पनि गाउँपालिकाले पहिल्यै गरेको निर्णय सूचना गरेर सार्वजनिक गरिएको गाउँपालिका प्रवक्ता एवं वडानम्बर २ का वडा अध्यक्ष सागर गुरुङले बताउनुभयो । स्वास्थ्य केन्द्रहरू बन्द नभएको र ज्यालादारीमा कर्मचारी खटाइएको प्रवक्ता गुरुङको भनाइ छ ।

सिद्धलेकमा स्वास्थ्यचौकी ३, आधारभूत स्वास्थ्यसेवा केन्द्र ४, स्वास्थ्य सेवा बिन्दु ५ गरी १२ स्वास्थ्य संस्थाहरू रहेको छ । ३ स्वास्थ्यचौकीबाहेक अन्य स्थानमा कर्मचारीविहीन भएका हुन् । सिद्धलेकमा कर्मचारीलाई वर्षको अन्तिम दिन सूचना प्रकाशित गरेर हटाएपछि डेंगुको महामारी भएका बेला स्वास्थ्यकर्मीविहीन बनाइएको छ भने भेटेनरी शाखामा पनि ५ जना भेटेनरी प्राविधिक हटाएपछि लम्पी स्किन रोगको उपचार नै प्रभावित भएको छ । सिद्धलेकमा गाईभैंसी बिरामी परिरहेको, केही मरी सकेको अवस्थामा प्राविधिक कर्मचारी हटाएपछि जनताको घरदैलोमा पुग्नेहरू नभएपछि उपचार सेवा नै बन्द भएको छ । अब पालिकामा बस्ने एक जना मात्र भेटेनरी प्राविधिक बाँकी छन् ।

कृषिसम्बन्धी प्राविधिक धारका ५ र अन्य प्राविधिक धारका ५ कर्मचारीको समेत करार सम्झौता नवीकरण गरिएको छैन । स्वास्थ्यसेवा प्रभावित नहोस् भनेर हाल काम गरिरहेका कर्मचारीलाई नै स्वास्थ्य संस्था खोल्न आग्रह गरिएको र स्वास्थ्यसेवा जस्तो संवेदनशील क्षेत्र चालु गरिएको सिद्धलेक स्वास्थ्य शाखा प्रमुख रामविनय शाहले जानकारी दिनुभयो ।

आम रूपमा वर्षको अन्तिम दिन सूचना गरेर कर्मचारी निकाल्ने काम विधि र नीति तथा आचरणविपरीत भएकाले यस्ता खाले काम बन्द गरी पुराना कर्मचारीको करार सेवा नवीकरण गर्नुपर्ने नेकपा एमालेले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्वातन्त्र पार्टी सिद्धलेक गाउँपालिका कमिटीले सेवा प्रभावित हुने गरी गरिएको काम बन्द गर्न माग गरेको छ ।

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा गाउँपालिकामा भेटिनुभएन । ९८५१३३५७४१ नम्बरमा सम्पर्क गर्दा उहाँको भाइ बोलेको भनेर फोन दिन नमिल्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सविता अर्यालले करार कर्मचारीको सम्झौता नवीकरण नभएको हो, बाँकी कुरा पछि गरौँला भनेर फोन राखिदिनुभयो । प्रमुख प्रशासकीय अधिकृत बिदामा भएकाले सम्पर्कसमेत हुन सकेन ।

(गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.