काठमाडौं, जेठ १८ : सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने भन्दै ट्राफिक प्रहरीले जरिवाना बढाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई कडा कार्वाही गर्ने चेतावनी दिएको हो।
महाशाखाले सिट संख्या भन्दा बढी यात्रु राख्ने सवारी साधनको जरीवाना पनि थप गरेको छ। पहिले ५ सयसम्म लिईदै आएको जरीवाना १ हजार पुर्याएको छ।
यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरीवाना १ हजार पुर्याइएको महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए। त्यसैगरी महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरीवान लिने व्यवस्था पनि गरेको छ।
ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरीवाना तोकिएको पनि वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए। महाशाखाले सवारी साधनको पार्किङ स्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने योजनालाई पनि प्राथमिकताका साथ अघि बढाउने पनि स्पष्ट पारेको छ।