काठमाडौंं, जेठ ५: महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सभ्य, शान्त र सुरक्षित समाज निर्माणका लागि सकारात्मक सोच र चिन्तनको आवश्यकता हुने बताएका छन् ।

आइतबार महानगरीय प्रहरी वृत्त सिंहदरबार र वडा नम्बर ११, २८ र २९ द्वारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि नागरिक प्रहरी विषयक कार्यक्रमलाई सम्बोधन गर्दा एसएसपी सुवेदीले उक्त कुरा बताएका हुन् ।
एसएसपी सुवेदीले समाजेमा डर, त्रास देखाएर गुण्डागर्दी गर्नेहरु कति प्रहरीसँगको मुडभेडमो मारिए त कति जेलको चिसो छिडीमा पुगे तर अपराध किन घटीरहेको छैन यस विषयमा प्रहरीले मात्रै नभएर नागरिकले पनि गम्भीर भएर सोच्नु पर्ने बताए ।
अपराध न्यूनिकरणका लागि समाजको सहयोग बिना प्रहरीको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै एसएसपी सुवेदीले पछिल्लो समयमा पेशेवर अपराधीले भन्दा सामाजिक विकृतिले अपराध बढेको बताएका थिए ।

बढ्दो सामाजिक संजालको प्रयोग र असावधानीका कारणले पनि दर्जनौं अपराध कर्म बढीरहेकाले त्यस तर्फ सचेत रहन समेत एसएसपी सुवेदीले आग्रह गरेका थिए । विगतमा बलात्कार अपरिचितबाट हुने गरेको तर दुर्भाग्य पछिल्ला बलात्कारका घटनालाई केलाएर हेर्दा आफन्तबाटै बलात्कृत भएको सुवेदीको भनाई रहेको थियो । आफ्नो अनुसन्धानको अनुभव सुनाउँदै एसएसपी सुवेदीले आज ससुराबाट बुहारी, बुबाबाट छोरी बलात्कृत भएका छन् यो भन्दा लाजमर्दो अरु केही हुन नसक्ने सुवेदीको भनाई रहेको थियो ।
हालै केन्द्रीय प्रवक्ताबाट काठमाडौंको सुरक्षा कमाण्ड सम्हाल्न आएका एसएसपी सुवेदीले गुण्डा भन्ने आफ्नो शब्दकोषमा नभएको र काठमाडौंका जनतालाई सुरक्षा प्रदान गर्ने क्रममा आफू जस्तो सुकै जोखिम मोल्न तयार भएको बताएका थिए ।

अन्तरकृयाको क्रममा सहभागी समुदायले धोबी खोला करीडोर सडक नभएर पाकिंङ स्थल जस्तै भएको लगायत रत्नपार्कमा हुने यौनजन्य कृयाकलापले आफ्ना चेलीबेटीसँग हिड्न समेत अप्ठ्यारो भएको आवाज उठाएका थिए । वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल ताण्डुकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी पूर्व महानिरीक्ष सिंहबहादुर श्रेष्ठले नागरिक र प्रहरी एक रथका दुई पाङ्ग्रा भएको बताउँदै सिंहदरबार वृत्तले दत्तचित्त भएर काम गरेका कारणले यस क्षेत्रमा अप्रिय घटना नघटेको बताएका थिए ।
समासेवी हरिप्रिया पाण्डेले होस्टेल व्यवस्थापनमा ध्यान दिनुपर्ने आवाज उठाएकी थिइन । कार्यक्रममा सिंहदरबार वृत्तका प्रमुख काजीकुमार आचार्यले प्राय आफूहरु भिड र जुलुस नियन्त्रणमा समय खर्चिनु परेका कारण चाहे जस्तो काम गर्न नसकेको बताएका थिए । डिएसपी आचार्यले नागरिकको सहयोगले ठूला ठूला अपराध पत्ता लाग्ने र अपराधिलाई कानुनको दायरामा ल्याउन सकिने भएकोले नागरिकको सहयोगको अपेक्षा गरेका थिए ।

कार्यक्रम संचालक प्रहरी निरीक्ष भोजराज पाण्डेले गरेका थिए । कार्यक्रममा वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्की, २९ का कुश ढकाल, परिसरका प्रनाउ राजेन्द्र पोखरेल, कमलपोखरीका कार्यालय प्रमुख प्रनाउ रविन्द्रनाथ पौडेल, पूर्वराजदूत प्रल्हाद प्रसाई, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, टंक श्रेष्ठ, विपेन्द्र खड्की लगायतको उपस्थिति रहेको थियो ।