सार्वजनिक बाटो अवरुद्ध

रिपोर्ट नेपाल | 2023 Apr 24 | 08:04 am 1349

सप्तरी, वैशाख ११ः महादेवा गाउँपालिका–१ स्थित एक सार्वजनिक बाटो बाँसको टाटी लगाएर बन्द गरिएको छ। स्थानीय श्रवण मण्डलले सो सार्वजनिक बाटो अवरुद्ध गरेका हुन्। छिमेकी रामकुमार यादवसँग जग्गासम्बन्धी विवाद उत्पन्न भएपछि मण्डलले हिँड्न समस्या हुने गरी घरको टाटी लगाएर बाटो छेकेको स्थानीयवासीले बताएका छन्। बाटो छेकेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ। बाटो ठप्प हुँदा दैनिक उपभोग्य वस्तुसमेत ओसारपसारमा कठिनाइ हुनुका साथै घर पुग्न पनि समस्या रहेको स्थानीय अशोक यादवले बताए।

बिरामी पर्दा एम्बुलेन्ससमेत छिर्न सक्दैन भने ग्यास सिलिन्डरसहितका दैनिक उपभोग्य सामग्री घरसम्म लैजान पनि बोकेर लैजानुपर्ने बाध्यता छ, उनले भने, “विगत वर्षदेखि बाटो छेकिएको भए पनि  खुलाउनेतर्फ कसैले चासो दिएका छैनन्।”

बाटो छेकेकाबारे महादेवा गाउँपालिकाका अध्यक्ष सुनीलकुमार मण्डललाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको स्थानीय बासिन्दाको गुनासो छ। उक्त बाटोमा गाउँपालिकाले २०७५/७६ मा लाखौँ रुपियाँ लगानी गरी मर्मतसम्भार तथा ग्राभेल हाल्ने कार्यसमेत गरेको छ। गाउँपालिका अध्यक्ष मण्डलले बाटो अवरोध खोल्ने प्रयास भइरहेको बताए। उनले बाटो खोल्नका लागि स्थानीय बासिन्दासँग बैठकको समय मिलाइरहेको प्रतिक्रिया दिए।

महादेवा गाउँपालिका–१ का श्रवण मण्डलले आफू सुकुम्बासी रहेकाले बाटो छेकेको स्वीकार गरे । गाउँपालिकाकी उपाध्यक्ष अर्चनाकुमारी यादवले बाटो हिँड्न समस्या भएकोबारे कुनै आधिकारिक जानकारी नआएको बताए। गाेरखापत्र दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.