सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 06 | 05:03 pm 1795

कैलाली, पुस २१ : कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह एक लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१२ स्थित सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग सो रकम लिंदै गरेको अवस्थामा दुबै जना पक्राउ परेका हुन् । कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले डोजर र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

उक्त डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिइएको टोलीले थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.