सामान्यको सरुवामा अख्तियारको नजर

रिपोर्ट नेपाल | 2022 Jul 30 | 09:12 am 1109

काठमाडौं, साउन १४ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गर्ने भएको छ । ‘सामान्यको सरुवामा लाखाैंको चलखेल’ शीर्षकमा शुक्रबार राजधानी दैनिकले समाचार प्रकाशित गरेपछि यस विषयलाई अख्तियारले गम्भीर चासो दिँदै छानबिन गर्ने भएको हो ।

सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूचीबाहिर होटलमा नै बन्ने गरेको र पैसाको लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आइरहेका छन् । पत्रिकामा प्रकाशित समाचार तथा चलखेल भएका गुनासा अख्तियारमा पुगेपछि अख्तियारले त्यसैलाई आधार मानी सरुवाका सम्बन्धमा छानबिन थालेको हो । आयोग स्रोतका अनुसार शुक्रबार राजधानी दैनिकमा ‘सामान्यको सरुवामा लाखौको चलखेल’ शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियारमा यस विषयमा गम्भीर छलफल भएको थियो । ‘यो विषयलाई आयोगले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय भएको छ,’ आयोग स्रोतले राजधानीसँग भन्यो । पत्रिकामा आएका अनियमिततासम्बन्धी गम्भीर खालका समाचारलाई उजुरीका रूपमा ग्रहण गरी आयोगले आवश्यक छानबिन गर्न सक्ने कानुनी प्रावधान छ । सोहीअनुसार आयोगले सामान्य प्रशासन मन्त्रालयको सरुवा सम्बन्धमा छानबिन थालेको हो ।

सरुवामा लाखौंको चलखेल भएपछि अख्तियारले छानबिन गर्ने

आयोगस्रोतका अनुसार आयोगले छानबिन क्रममा सामान्यले पछिल्लो समयमा गरेका सरुवा विवरण माग्ने भएको छ । यस्तै, सामान्य प्रशासनमन्त्री श्रेष्ठको सचिवालयका कर्मचारीमाथि समेत छानबिन हुन सक्ने बताइएको छ । उनीहरूमाथि आयोगले आवश्यक निगरानी राखेको स्रोतले जानकारी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दै आइरहेको छ । बुधबार मात्रै ६० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा पनि रकमको लेनदेन भएको बताइएको छ । अझै ठृुलो संख्यामा सरुवा हुनेहरूको सूची बन्ने क्रममा रहेको र मोलमोलाइ गर्ने क्रम जारी रहेको पीडित कर्मचारीको गुनासो छ । मन्त्रालयले एकपटक गरिसकेको सरुवा पटकपटक संशोधन गर्ने गरेको छ । अहिले मन्त्रालयमा सरुवा माग्नेको भीड अत्यधिक छ । अहिले आकर्षक मानिएका निकायमा जान सरुवाको मुख्य आधार नै कि पैसा कि सोर्सफोर्र्सलाई बनाउने गरिएको छ ।

पैसा दिन नसक्नेलाई आकर्षक ठाउँमा पठाइएको छैन् । मन्त्रीको सचिवालयकै कर्मचारीको रुचिअनुसार नभएपछि मन्त्रालयले एकपटक गरिसकेको सरुवामा व्यापक फेरबदल गर्दै अन्तिम रूप दिने गरेको छ ।

मन्त्रीको सचिवालयका कर्मचारीले मन्त्रीको पार्टीलाई चुनावी खर्च आवश्यक पर्ने भन्दै सरुवा माग्न आउनेहरूसँग ‘पैसाको बार्गेनिङ’ गर्ने गरेको बताइएको छ ।

अहिले पनि काठमाडौंका विभिन्न होटलमा बसेर ‘डिल ’ गर्ने गरिएको पनि पीडित कर्मचारीले बताएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.