काठमाडौं, असोज २ । आगामी बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।
साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउने क्रममा रहेको एन्फा प्रवक्ता सुरेश शाहले बताए । भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज मंगलबार आउनेछन् । पाकिस्तान भने भोलि बुधबार आइपुग्ने एन्फाले जनाएको छ ।
नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने भारत, बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । प्रतियोगिताको लागि भीआईपी प्याराफिटतर्फ ३०० र साधारण प्याराफिटतर्फ २०० टिकट मूल्य राखिएको छ ।
सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।
खेलहरु स्पोर्ट्जवर्कजको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ ।