ढाका, भदौ २१ : साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेल नेपाल र भुटानबीच खेल सुरु भएकाे छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार अपरान्ह ४ बजे खेल सुरु भएकाे हाे ।
गोलकिपर किरण चेम्जोङले पहिलो पटक राष्ट्रिय फुटबल टोलीको कप्तानी गरेका छन् । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भुटानविरुद्धको दोस्रो खेलमा अाजकाे खेलमा उनले कप्तानीको अवसर पाएका हुन् ।
नियमित कप्तान विराज महर्जन पहिलो रोजाइमा पर्न असफल भएपछि किरणले कप्तानीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका हुन् । विराज पहिलो रोजाइमा पर्न असफल रहँदा भरत खवासले कप्तानी गर्थे, तर आज भरतले पहिलो रोजाइमा मौका पाएनन् । राष्ट्रिय टोलीबाट एक दशक लामो यात्रा तय गरेका किरणले राष्ट्रिय टोलीलाई पहिलो पटक नेतृत्व गर्ने मौका पाएका हुन् ।
यसअघि उनले हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा यू २३ टोलीको कप्तानी गरेका थिए । यू २३ बाहेक तीन खेलाडीलाई टोलीमा राख्न पाउने व्यवस्था अनुसार नेपालले किरण, रोहित चन्द र विशाल राईलाई मौका दिएको थियो । भुटानविरुद्धको खेल किरणका लागि राष्ट्रिय टोलीबाट ५३ औं खेल हो । किरणले सन् २००८ को च्यालेन्ज कप छनोटमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।