सातौँ राष्ट्रिय कर दिवस : बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर

| 2018 Nov 17 | 02:38 pm 2133

काठमाडौं, मंसिर १: सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले शनिबार आयोजना गरेको कार्यक्रममा विभिन्‍न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे।

बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । यसअघि पनि दुई पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । यस्तै व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर जबरा सम्मानित भए।

सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा विगत पाँच वर्षदेखि उनी सम्मानित हुँदै आएका छन्। उनी होटल, ट्रेडिङ, ट्राभललगायत विभिन्न क्षेत्रमा काम गर्र्दै आएका छन्।

कर दिवसको अवसरमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

यस्तै बैंक वित्तिय संस्थातर्फ नबिल बैंक, बीमामध्येबाट नेपाल पुनर्विमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेशनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।

व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि तथा रु ४० करोड कारोवार भएका मध्येबाट नेपाल इन्भेष्टमेन्ट प्रालि, वार्षिक ४० देखि ८० करोड कारोवार गर्ने मध्येबाट नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाउने घोराही सिमेन्ट प्रालिलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई पुरस्कृत गरिएको थियो।

कर नतिरे समृद्धिको बाटो बन्द हुन्छ : मन्त्री खतिवडा

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री डा खतिवडाले कर नतिरे समृद्धिको बाटो अवरुद्ध हुने बताएका छन्। आम्दानीअनुसार सबैले कर तिर्नुपर्ने बताउँदै अर्थमन्त्री खतिवडाले सबैभन्दा थोरै आम्दानी गरेर कर तिर्ने करदाता पनि उत्तिकै सम्मानित व्यक्ति हो भनेर चेतना जगाउनु जरुरी रहेको बताए।

“हामीले कर तिरेनौँ भने समृद्धिको बाटो बन्द हुन्छ खतिवडाले भन्नुभयो, आम्दानीअनुसार कर तिर्नुपर्छ भनेर चेतना जगाऔँ ।” उनले स्वच्छिक कर सहभागितामा जानुपर्ने उल्लेख गर्दै मुद्दा मामिला र हतकडी लगाउनुपर्ने अवस्था आउन नदिन व्यवसायी सचेत हुनुपर्नेमा जोड दिए।

अनलाइनबाट कर तिर्ने प्रणालीको विकासमा सरकार लागेको उहाँले जानकारी दिए। कर सहभागिता बढाउन सहकार्य र एक अर्काप्रति सम्मान गर्नुपर्नेमा उनको जोड थियो। राज्यको आँखाबाट कोही नछुटने भन्दै उनले उपभोक्ताको हितमा प्रतिकूल नहुने गरी कर प्रणालीलाई व्यवस्थापन गर्न सरकार लागेको बताए। करको दर नभई दायरा बढाउनेतर्फ ध्यान केन्द्रित भएको समेत अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्रालयका सचिव राजन खनालले कर सुधारको विषयमा सरकारले अभ्यास गरिरहेको भन्दै पछिल्ला केही वर्षदेखि परिवर्तन देखिएको जिकिर गरे।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रणाली उद्योगमैत्री बनाउँदै औद्योगिक क्षेत्रमा लगानीको वातावरण निर्माणतर्फ सरकारको ध्यानाकर्षण गराए।

कर तिर्नका लागि जागरण ल्याउन सरकारसँग सहकार्य गर्ने व्यवसायी तयार रहेको उनीहरुको भनाइ थियो। सम्मानित करदाताकातर्फबाट मन्तव्य राख्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि कर तिर्ने दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।

आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले करदातालाई जागरुक बनाउनेतर्फ ध्यान दिँदै सरकारको आर्थिक नीति र राजश्व परिचालन नीतिलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताए। उनले करदाताको बृहत्तर सहभागितका लागि बृहत्तर छुट सुविधासहितका कार्यक्रम ल्याएकाले त्यो अवसर नगुमाउनसमेत करदातालाई आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.