साग महिला भलिबलः भारतसँग नेपाल पराजित

रिपोर्ट नेपाल | 2019 Nov 28 | 06:35 pm 3262

काठमाडौं, मंसिर १२: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप)को कभर्डहलमा बिहीबार साझँ भएको खेलमा भारतले नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

भारतीय महिला टोलीको तुलनामा नेपाली टोली कम्जोर देखिएको छ । पहिले सेटमा नेपालले भारतलाई टक्कर दिए पनि दोस्रो र तेस्रो सेटमा नेपाल कम्जोर देखियो ।

भारतले पहिलो सेटमा २६–२४ ले नेपाललाई पराजित गर्यो भने दोस्रो सेटमा २५–१२ ले पराजित गर्यो । त्यस्तै भारतले अन्तिम सेटमा २५–१६को जित निकाल्न सफल भयो ।

अहिलेसम्म नेपालले भारतलाई महिला भलिबलमा पराजित गर्न सकेको छैन । सागको महिला भलिबलमा भारतले लगातार स्वर्ण जित्दै आएको छ भने नेपालले अहिलेसम्म कास्य मात्रै जितेको छ ।

बुधबार भएको पहिलो खेलमा नेपालले बंगलादेशी टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले बंगलादेशीलाई २५–९, २५–९ र २५–११ ले पराजित गरेको थियो ।

भारतविरुद्ध अरुणा शाहीको कप्तानिमा प्रतिभा माली, सरस्वती चौधरी, सुनिता खड्का, सोफिया पुन, उषाकुमारी विष्ट, हीरा केसी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ मैदानमा उत्रिएका थिए ।

भलिबलमा सहभागी ६ देशलाई दुई समूहमा विभाजन गरिएको छ। त्यसअनुसार भलिबलको समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.