साग इतिहासमा नेपालको १०० स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 05 | 08:13 am 1716

काठमाडौं, मंसिर १९ : दक्षिण एसियाली खेलकुदमा नेपाल १ सय स्वर्णको कोसेढुंगामा पुगेको छ । नेपाललाई एक सयौं स्वर्ण दिलाउने खेलाडी रहे सक्षम कार्की । उनले बुधबार ८७ केजी माथिमा पाकिस्तानका वकार अलिलाई पराजित गरेपछि नेपाल साग इतिहासमा एक सय स्वर्ण जित्न सफल भएको हो ।

सन् १९८४ मा काठमाडौंबाटै सुरु भएको दक्षिण एसियाली महासंघ (साफ) को नामबाट सुरु भएको थियो। सन् २००४ मा पाकिस्तानको नवौं संस्करणबाट सागको पहिचान पाएको दक्षिण एसियाको ओलम्पिक मानिने सागको १३ औं संस्करणमा आएर नेपालले एक सय स्वर्णलाई छोएको हो। ३५ वर्षअघि काठमाडौंको पहिलो सागमा म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए।

पहिलो सात संस्करणमा नेपालले १५ संस्करणमात्र जित्न सकेको थियो। १९९९ मा काठमाडौंमा भएको सागको आठौं संस्करणमा नेपालले सबैभन्दा बढी ३१ स्वर्ण जितेको थियो। त्यसयताको ४ संस्करणमा नेपालले २५ स्वर्ण जितेको थियो।

जारी सागमा नेपालले मंगलबारसम्म २३ स्वर्ण जितिसकेको थियो र १ सय स्वर्णको आँकडालाई छुन ६ स्वर्ण बाँकी थियो। बुधबार करातेमा अनुपमा महर्जन, उसुमा दीपक हमाल, तेक्वान्दोमा संगिता बस्याल र सक्षम तथा साइक्लिङमा राजेश मगर र निष्मा श्रेष्ठले सफलता हात पारेपछि नेपालको साग इतिहासमा स्वर्ण संख्या १ सय पुगेको हो।

नेपालले साग तेस्रो पटक आयोजना गरिरहेको छ, त्यसमा ६१ स्वर्ण नेपालले घरेलु मैदानमा जितेको छ। नेपालबाट तेक्वान्दोका दीपक विष्टले लगातार चार स्वर्ण जितेका छन्। त्यस्तै बैकुण्ठ मानन्धर र आयशा शाक्यको नाममा समान ३ स्वर्ण रहेको छ। आयशाले २ रजत र बैकुण्ठले १ कास्य पदक पनि जितेका छन्।

त्यस्तै २,२ स्वर्ण जित्नेमा स्व. दलबहादुर रानामगर (बक्सिङ), राजुकाजी शाक्य र उमेश प्रधान (फुटबल), दीपक श्रेष्ठ (कराते), संगिना वैद्य (तेक्वान्दो), रेनुका मगर (तेक्वान्दो) र मण्डेकाजी श्रेष्ठ (कराते) छन्। मण्डेकाजीले जारी सागमा दुई जितेका हुन्।

१ सय स्वर्ण जित्नेमा बक्सिङका प्रकाश थापामगर र रामचन्द्र थापामगर तथा तेक्वान्दोका निर्मल र निरञ्जन श्रेष्ठ सहोदर दाजु भाइ हुन्।
१ सय स्वर्णमा नेपालले मार्शलआर्टबाटै ७७ स्वर्ण जितेको छ। त्यसमा तेक्वान्दोले सबैभन्दा बढी ३५, करातेले ३०, उसुले ८ र जुडोले ४ स्वर्ण नेपाललाई दिएको छ।

भारतले १३ औं साग सुरु हुनुअघि नै १ हजार ८८ स्वर्ण जितिसकेको छ। २०१६ मा गुवहाटी र सिलोङमा भएको पछिल्लो सागमा भारतले घरेलु मैदानको फाइदा उठाउँदै अहिलेसम्मकै सबैभन्दा बढी १ सय ८८ स्वर्ण जितेको थियो। १३ औं साग सुरु हुनुअघि पाकिस्तानले २ सय ६७, श्रीलंकाले २ सय १२, बंगलादेशले ६७ भुटानले २ स्वर्ण जितेको छ। माल्दिभ्सले अझै स्वर्ण जित्न सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.