सांसद रौनियार र पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सहित १२ जना विरुद्ध मुद्दा दायर

| 2018 Oct 05 | 05:37 pm 2790

काठमाडौँ, असोज १९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई पुल गुणस्तरहीन बनाएको भन्दै निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदार विरुद्ध मुद्दा दायर दर्ता गरेको छ । आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पुप्पु कन्स्ट्रक्सनले बताएको थियो। पुल गुणस्तरहीन बनाएको भन्दै सर्वत्र विरोध भएको थियो। गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले अनुसन्धान थालेको थियो। हरिनारायण रौनियार संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हुन् । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन्।

रौनियार विरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ । यस्तै उनका  छाेरा अर्थात  पप्पु कन्स्ट्रक्सनका  अध्यक्ष सुमित  विरुद्ध पनि अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।

डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख भानु जोशीविरुद्ध १ लाख २५ हजार र १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ गरी कूल १ करोड ९७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ बिगो बराबर जरिवाना र सजाय माग गरिएको छ ।

यस्तै राकेश कुमार यादवविरुद्ध ७४ लाख ५३ हजार २ सय ६९.३७ रुपैयाँ र ३ करोड १४ लाख १८ हजार ९ सय ७.५८ गरी ३ करोड ८८ लाख ७२ हजार १ सय ७७.२० रुपैयाँको बिगो बराबर जरिवाना र कैद सजाय माग गरिएको छ । मनोज श्रेष्ठविरुद्ध ९ करोड २४ लाख २४ हजार ९९.१९ रुपैयाँको बिगो बराबर जरिवाना र कैद सजाय माग गरिएको छ ।

इञ्जिनियर नवराज केसीविरुद्ध ६ करोड ९२ लाख ४६ हजार ९ सय २१.६५, इञ्जिनियर प्रेमप्रसाद चुवाईविरुद्ध ३ करोड १९ लाख ३८ हजार ५ सय ७९.९६, इञ्जिनियर हरिबहादुर खड्काविरुद्ध ७ करोड ५४ लाख ४८ हजार ६१.१५ र इञ्जिनियर दीपेन्द्रबहादुर विष्टविरुद्ध १ करोड ६१ लाख ८३ हजार ४ सय ४३.५२ रुपैयाँ बिगो बराबर जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

सब–इञ्जिनियर कार्मातेञ्जिन तामाङविरुद्ध १५ करोड ८ लाख ८४ हजार ७ सय १३.४० र अर्का सब–इञ्जिनियर गोविन्द गैरेविरुद्ध १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ रुपैयाँ बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ ।

डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनबीच २२ असार २०६८ मा बर्दियाको जब्दीघाटमा बबई नदीमाथि पुल निर्माण गर्ने सम्झौता भएको थियो ।

तर उक्त पुल निर्माण भएर सञ्चालनमा नआउँदै भास्सिएपछि स्थानीयले अख्तियारमा उजुरी दिएका थिए । स्थानीयको उजुरीका आधारमा अख्तियारले पुल निर्माणको प्राविधिक पक्षको समेत अध्ययन गरी छानबिन गरेको थियो ।

 

 

अख्तियारले निकालेको विज्ञप्तिकको पूर्णपाठ

प्रेस विज्ञप्ति: मिति २०७५।६।१९ गते।
——————————————–
आरोप-पत्र दायर गरिएको
—————————–
पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र ( ठेक्का नं.MW/DRO-3/BRP-73-067/068) उद्घाटन नहुँदै भत्किएको बन्ने समेतको व्यहोराको उजुरी निवेदनका सम्बन्धमा आयोगबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन,पोखरिया-७ बीच पुल निर्माणका लागि मिति २०६८।०३।२२ गते सम्झौता भएपछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको,फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, Specifications को Clause ११२ बमोजिम नभएको, Specifications को Clause १०४ बमोजिम निर्माण व्यवसायीबाट Quality Assurance Plan(QAP) पेश गर्न लगाई स्वीकृत गरी निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको, Pile हरुको Depth डिजाईन बमोजिम नभएको वा डिजाईन बमोजिम निर्माण नगरेको तथा निर्माण भएको Pile हरुमा समेत Cavities भएको कारणले नै pile ले लोड लिन नसकी पुल भास्सिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टी हुन आयो।

अत: निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको देखिँदा उक्त कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो भएको पुष्टी हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहाय बमोजिमका १२ जना ब्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिइ आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

मदन कोइराला
उपसचिव एवं सहायक प्रवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.