सांसद चौधरीकाे समर्थकले गरे रिहाइको माग

रिपोर्ट नेपाल | 2019 Mar 06 | 06:39 pm 1728

काठमाडौं, फागुन २२ : जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि थारुसम्बद्ध विभिन्न संघ संगठनले रेशम चौधरी लगायत ११ जना निर्दाेष भएको भन्दै उनीहरुलाई राजनीतिक मुद्दा ठान्दै थुनामुक्त गर्न माग गरेका छन् ।

बुधबार थारुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली, थारुहट थारुवान संयुक्त संघर्ष समिति कञ्चनपुर, थारु कल्याणकारी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरी लगायत ११ जना निर्दोष रहेकाले उनीहरुलाई थुनामुक्त गर्नेतिर राज्यको ध्यान जान जरुरी भएको बताएका हुन् ।

‘सामाजिक सद्भाव कायम गर्ने हो भने निजहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिई निशर्त थुनामुक्त गर्ने वातावरण कायम गर्न राज्यसँग अनुरोध गर्दर्छौ  र यस टिकापुर मुद्दा समाधानका लागि सहयोग गर्नुहुने सरोकारवाला  सम्पुर्णलाई आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै यसै विज्ञप्तिमार्फत धन्यवाद दिन्छौ’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
बुधबार जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु  हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको थियो ।

यस्तै प्रतिवादीहरु लक्ष्मण थारु चौधरी, लाहुलाम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी,  विश्रम  भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दील बहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी तुलसी राम चौधरी र रामप्रसाद चौधरीलाई  ३ वर्ष कैदको सजाय सुनाइएको छ । यी प्रतिवादीमध्ये शून्यराम चौधरी फागुन ३० रिहा हुने फैसलामा उल्लेख छ ।

०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो ।  ५८ जना प्रतिवादीहरुमध्ये  ३१ जना फरार रहेका र २७ जना पुर्पक्षका लागि थुनामा रहेको अदालतको फैसलामा उल्लेख छ । उक्त मुद्धाको फैसलाअनुसार फरार रहेका ३१ जना प्रतिवादीहरुको हकमा मुद्धा मुद्धा मुल्तवीमा रहने ठहर गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.