सहिद परिवारले ‘विप्लव’ नेतृत्वको प्रवक्ता प्रकाण्डलाई लगार्इ दिए ५० किलोको माला

| 2018 Dec 05 | 04:00 pm 1846

कालिकोट, मंसिर १९ :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ५० किलोको फूलको मालाले अभिनन्दन गरिएको छ।नेकपा कालिकोटले आयोजना गरेको जनसभामा सहभागी हुन गृहजिल्ला पुगेका प्रवक्ता प्रकाण्डलाई सहिद परिवारले ५० दिन हिराशत बसेको सम्झनामा ५० किलोको माला लगाएर अभिन्दन गरेका हुन्।

कार्यक्रममा सहिद परिवारले अबिर लगाउँदै गर्दा प्रकाण्डकी बहिनी जैपुरा बिक भक्कानिएकी थिइन्। धेरै समयपछि दाजुलाई भेटाउँदा छातिमा टाउको राखेर उनी मञ्चमै भक्कानिएकी हुन्। बहिनी जैपुरा सानो छोरासिहत मञ्चमा पुगेकी थिइन् ।

बहिनी रुनथालेपछि दाजु प्रकाण्डसँगै अन्य नेता तथा कार्यकर्ता भावुक बनेका थिए। नेकपाको सांस्कृतिक टिम सामना परिवारका प्रस्तुतिसहितको आमसभामा बोल्ने अधिकांश वक्ताले वैज्ञानिक समाजवाद ल्याएरै छाड्ने उद्घोष गरेका छन्।

कार्यक्रममा हजारौं स्थानीय नागरिकको सहभागिता थियो। कार्यक्रममा नक्कली कम्युनिस्टको शासन अन्तिम घडीमा पुगेको नेताहरुले बताएका छन्। सहिद परिवारले सहिदको सपना पूरा गर्न र सहिदको रगतलाई खोलाको पानी बनाउनेविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.