सशस्त्र प्रहरीद्वारा डुवानमा परेकाहरुको उद्वार तथा अवैध सामाग्री बरामद

| 2021 Jul 08 | 09:19 pm 2649

मोरङ्ग, असार २४ः जिल्लाको रतुवामाई नगरपालिका ७ राजाबासास्थित रतुवामाई खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बाँध फुटेर डुवान परेका सिजुवा गाउँका करीव २० घरपरिवालाई सशस्त्र प्रहरीले बिहीबार सुरक्षित स्थानमा सारेको छ ।

उक्त गाउँका घरपरिवार डुवान परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सौठाबाट सशस्त्र प्रहरी निरीक्षक सिताराम पौडेलको कमाण्डमा उद्वार कार्यको लागि सशस्त्र प्रहरी त्यस ठाउँमा खटिएको हो ।

यसैगरी झापा जिल्लाको झापा गाउँपालिका १ मिलन बस्तीमा बर्षाको कारण माईखोलामा आएको बाढीको कारण डुवान परेका करीव ८५ घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश सालमाराबाट सशस्त्र प्रहरी नायव निरीक्षक पुण्यप्रसाद विमलीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारमा बसोवास गर्ने व्यक्तिहरुलाई सोही ठाउँ नजिकै रहेको सितुमाडी प्राथमिक विद्यालयको भवनमा सुरक्षित स्थानान्तरण गरेको हो ।

चोरीपैठारीका बिभिन्न औषधी बरामद 
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ टुकैनीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ७ लाख ७१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद 
सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ त्रिशुल खोलास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद  गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.